सरकारको हेपाहा प्रवृत्ति

वैशाख ३, २०८२

पाठक पत्र

Govt's Hepaha Tendency

शिक्षक सेवा सुविधा, स्थायित्व, बढुवा, मर्यादाक्रमलगायतका मुख्य माग अघि सार्दै चैत २० बाट सुरु भएको काठमाडौंकेन्द्रित शिक्षक आन्दोलन यतिखेर शैक्षिक हड्तालको चरणमा पुगेको छ ।

यो आन्दोलन शिक्षकले कुनै अस्वाभाविक, नयाँ र असम्भव माग राखेर गरेको होइन । तर, सरकार भने शिक्षकका माग पूरा गर्न अर्बौं आर्थिक दायित्व थप हुने बताउँदै राज्यकोषले उक्त खर्च धान्नै नसक्ने तर्क दिँदै आइरहेको छ ।

सत्तास्वार्थ पूरा गर्न रातारात अध्यादेश ल्याउने र राजनीतिक पदका लागि विलासी आवश्यकता पूरा गर्ने गरी सेवासुविधा बढाउन सरकार पछि पर्दैन । तर, शिक्षकका जायज मागप्रति नजरअन्दाज गरिरहेको छ । विगतमै सहमति भएका मागलाई सम्बोधन गरेर शिक्षा ऐन जारी गर्न सरकार तयार देखिँदैन । शिक्षकप्रति सरकारले देखाएको यो हेपाहा प्रवृत्ति हो ।

यसैबीच शिक्षक महासंघले आन्दोलनलाई थप दबाबमूलक र सशक्त बनाउनका लागि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा समेत शिक्षक/कर्मचारी सहभागी नहुने जनाउँदै आन्दोलनमा आउन बाँकी शिक्षकलाई पनि आह्वान गरेको छ । कतिपय विद्यालयले ‘पूर्वनिर्धारित भर्ना अभियानलगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको’ सूचना पनि जारी गरिसकेका छन् ।

क्रियाको प्रतिक्रिया स्वरूप ‘शिक्षकले आफ्नो कर्तव्य भुले, अब सरकारी विद्यालय सुक्ने र निजी विद्यालय मालामाल हुने भए’ भन्ने खालका टीकाटिप्पणी पनि यदाकदा हुन थालिएका छन् । पहिलो कुरा त आन्दोलनको यो अवस्था सिर्जना हुनुमा शिक्षक नभएर विगतदेखिका सरकार नै दोषी छन् । शिक्षकलाई कर्तव्य भुल्ने कुनै पनि सुविधा छैन ।

दोस्रो कुरा, आफ्ना सन्तानलाई महँगा विद्यालयमा भर्ना गर्ने भनेका धनीमानी अभिभावक नै हुन् । सरकारी विद्यालयको भर्ना अभियान र पठनपाठन केही समय पर सर्दैमा मध्यमवर्गीय अभिभावकको आर्थिक स्तर एकाएक बढेर उनीहरू आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्न कुदाइहाल्ने अवस्थामा पुग्दैनन् । त्यसमा पनि अवरुद्ध भएको पठनपाठन वर्षेबिदाको समयमा पूरा गर्ने कुरा महासंघले जनाइसकेको छ ।

हामीले बुझेको कुरा यत्ति हो– अहिले शिक्षकसँग आन्दोलनको विकल्प छैन र सरकारलाई शिक्षकका माग पूरा गर्नुको वैकल्पिक उपाय छैन ।

इन्द्रकुमार श्रेष्ठ, वागीश्वरी मावि च्याह्मासिंह, भक्तपुर

पाठक पत्र

Link copied successfully