अमेरिकाको पछिल्लो कदमबाट नेपालका लघु एवं मझौला उद्योग सञ्चालक बढी लाभान्वित हुन सक्ने देखिएको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले कार्यभार सम्हालेपछि १ सय ८५ देशका वस्तुमा उच्च भन्सार शुल्क लगाएसँगै विश्वको आर्थिक क्षेत्र हल्लिएको छ । ‘अमेरिकाको नयाँ भन्सार दर, नेपाललाई लाभ लिने अवसर’ समाचारसँगै बुधबार यस विषयमा सम्पादकीयसमेत लेखेर कान्तिपुरले यसको महत्त्व र सान्दर्भिकता पुष्टि गरिसकेको छ ।
अहिलेसम्म नेपालबाट अमेरिका निर्यात हुँदै आएको सामानको परिमाण न्यून भएको र अल्पविकसित देशलाई प्रोत्साहित गर्ने हिसाबले हाम्रा लागि न्यून अर्थात् १० प्रतिशत मात्रै कर तोकिएको हुनुपर्छ । यसरी हाम्रो र प्रतिस्पर्धी मुलुकबीच भन्सार शुल्कमा ठूलो अन्तर देखिँदा उद्यमीमा हौसला थपिएको छ भने अर्थविद् एवं उद्योग वाणिज्य महासंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पदाधिकारीहरूले सरकारबाट नीतिगत सुधार गरिनुपर्ने, निर्यातकर्ताको मनोबल उच्च राखी गुणस्तरीय सामानको निकासीबाट मुलुकले प्रचुर फाइदा लिनुपर्ने कुरामा जोड दिएका छन् ।
सरकार साँच्चै आर्थिक सुधारमा दत्तचित्त भई व्यावसायिक उत्पादनमा लाग्नेको सहयोगी बन्ने हो भने अमेरिकाको नयाँ भन्सार नीतिबाट प्रशस्त फाइदा लिन सकिन्छ । गाउँसहर सबैतिर रोजगारीको अवसर सिर्जना हुने, निर्यातजन्य सामग्रीको परिमाण र गुणस्तर अभिवृद्धि हुने, उद्योगी व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने कुरा निर्विवाद छ । हुन त २०७२ को भूकम्पपछि अमेरिकाले नेपाललाई ७७ निर्यातजन्य वस्तुमा भन्साररहित सुविधा दिएको थियो । तर त्यत्रो सुविधा पाउँदासमेत सरकारी उदासीनताका कारण निर्यात बढ्न सकेन ।
यद्यपि, आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब ३१ करोड रुपैयाँ बराबरको कार्पेट, छुर्पी र तयारी पोसाक अमेरिका निर्यात गर्न व्यवसायी सफल भएका छन् । चालु आर्थिक वर्षमा पनि निर्यात सन्तोषजनक नै मान्नुपर्छ । यतिबेला नेपाललाई अमेरिकाले थोरै भन्सार कर लगाउने भएपछि छिमेकीलगायत बढी शुल्क तोकिएका मुलुकले व्यावसायिक उत्पादनका लागि नेपालमाथि आँखा नगाड्लान् पनि भन्न सकिँदैन । सरकारबाट स्वदेशी लगानीकर्ताको सुविधा बढाउने, प्रोत्साहित गर्ने काम नभएसम्म व्यवसाय चिरस्थायी बन्न सक्ने देखिँदैन ।
- भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
