सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन कार्यकर्तालाई सरकारी इन्धन बाँडिएको खबर बाहिर आउँदा, देशका सचेत नागरिक झस्किन बाध्य भएका छन् ।
सत्ता टिकाउन, भीड देखाउन र भाषणमा ताली पिटाउन यस्तो लोभ देखाउने प्रवृत्तिले अबको राजनीति कुन दिशामा बगिरहेको छ भन्ने चिन्ता झनै गहिरिएको छ । यो केवल कार्यकर्ता उतार्ने मामुली प्रयास होइन— यो हो राज्यस्रोतको खुलेआम दुरुपयोग, सरकारको असंवेदनशीलता र जनतालाई अझै पनि मूर्ख ठान्ने प्रवृत्तिको उदांगो रूप पनि हो ।
केपी ओलीले कुनै समय आमजनमानसमा प्रभावशाली छवि बनाएका थिए— जुन छवि उनले संकटको बेलामा बोलेका शब्द, गरिएका वाचा र देखाइएका सपनाहरूको बलमा निर्माण भएका थिए । तर पछिल्ला घटनाक्रमले देखाइरहेका छन्— ओलीको राजनीति अब नीति, सिद्धान्त र जनपक्षीयता होइन, केवल स्वार्थ, प्रचार र भीडभाडकै वरिपरि घुमिरहेको छ ।
विद्यालय बन्द गराएर, कर्मचारी खटाएर, इन्धन बाँडेर कार्यक्रम गरिनु भनेको जनताको समय, स्रोत र भरोसामाथिको अपमान हो । चुनावको अघिल्लो दिन मासु–भात र रक्सी खुवाएर मत बटुल्ने चलन अहिले सरकारी कार्यक्रममा पनि दोहोरिन थालेको छ । राज्यको ढुकुटीबाट तेल खन्याएर भोटजस्तै समर्थन देखाउने प्रयास लोकतान्त्रिक मूल्यको अपमान हो ।
यो केवल ओलीको गल्ती होइन, यो प्रवृत्तिको स्थायीकरण हो । जहाँ हरेक नेताले आफ्ना समर्थकलाई लोभ, डर या भ्रममा पारेर प्रयोग गर्छन् । तर ओली अब जनतामाझ विश्वसनीयताको संकटमा परेका छन्— जहाँ भाषण सुन्न त भेला गरिन्छ, तर त्यही भीड कार्यक्रम छाडेर उठ्न थालेको छ । जनता अब सुन्न होइन, जवाफ खोज्न थालेका छन् ।
ओली सरकारका पछिल्ला गतिविधिहरूले एक खालको मानसिक विचलन पनि झल्काउँछ—जहाँ आलोचना र असहमति होइन, केवल ताली, जयजयकार र चाकरी खोजिन्छ । यस्तो अवस्थाले शासन प्रणालीलाई कमजोर बनाउँछ, जसको असर हरेक तहमा देखिन थालिसकेको छ ।
अहिलेको प्रश्न हो— राज्यस्रोत खर्च गरेर कार्यक्रममा भीड उतार्ने नेताबाट जनताले के अपेक्षा गर्न सक्छन् ? जब सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर मात्र समर्थन देखाउनुपर्ने अवस्था आउँछ, त्यो दिनदेखि त्यो नेतृत्वको बचेखुचेको नैतिकता पनि समाप्त भएको मान्नुपर्छ ।
जनताले अब बुझ्न थालेका छन्— भीड होइन, नीति चाहिन्छ । भाषण होइन, समाधान चाहिन्छ । इन्धन बाँडेर देखाइएको समर्थन दीर्घकालीन होइन, बरु आत्मघाती हो । किनभने सचेत समाजको सामना गर्न यस्ता खेलले कुनै प्रभाव पार्दैन, बरु अविश्वास मात्रै थपिदिन्छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
