जनताको भरोसामाथिकै अपमान

चैत्र २८, २०८१

पाठक पत्र

An insult to the people's trust

सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन कार्यकर्तालाई सरकारी इन्धन बाँडिएको खबर बाहिर आउँदा, देशका सचेत नागरिक झस्किन बाध्य भएका छन् ।

सत्ता टिकाउन, भीड देखाउन र भाषणमा ताली पिटाउन यस्तो लोभ देखाउने प्रवृत्तिले अबको राजनीति कुन दिशामा बगिरहेको छ भन्ने चिन्ता झनै गहिरिएको छ । यो केवल कार्यकर्ता उतार्ने मामुली प्रयास होइन— यो हो राज्यस्रोतको खुलेआम दुरुपयोग, सरकारको असंवेदनशीलता र जनतालाई अझै पनि मूर्ख ठान्ने प्रवृत्तिको उदांगो रूप पनि हो ।

केपी ओलीले कुनै समय आमजनमानसमा प्रभावशाली छवि बनाएका थिए— जुन छवि उनले संकटको बेलामा बोलेका शब्द, गरिएका वाचा र देखाइएका सपनाहरूको बलमा निर्माण भएका थिए । तर पछिल्ला घटनाक्रमले देखाइरहेका छन्— ओलीको राजनीति अब नीति, सिद्धान्त र जनपक्षीयता होइन, केवल स्वार्थ, प्रचार र भीडभाडकै वरिपरि घुमिरहेको छ ।

विद्यालय बन्द गराएर, कर्मचारी खटाएर, इन्धन बाँडेर कार्यक्रम गरिनु भनेको जनताको समय, स्रोत र भरोसामाथिको अपमान हो । चुनावको अघिल्लो दिन मासु–भात र रक्सी खुवाएर मत बटुल्ने चलन अहिले सरकारी कार्यक्रममा पनि दोहोरिन थालेको छ । राज्यको ढुकुटीबाट तेल खन्याएर भोटजस्तै समर्थन देखाउने प्रयास लोकतान्त्रिक मूल्यको अपमान हो ।

यो केवल ओलीको गल्ती होइन, यो प्रवृत्तिको स्थायीकरण हो । जहाँ हरेक नेताले आफ्ना समर्थकलाई लोभ, डर या भ्रममा पारेर प्रयोग गर्छन् । तर ओली अब जनतामाझ विश्वसनीयताको संकटमा परेका छन्— जहाँ भाषण सुन्न त भेला गरिन्छ, तर त्यही भीड कार्यक्रम छाडेर उठ्न थालेको छ । जनता अब सुन्न होइन, जवाफ खोज्न थालेका छन् ।

ओली सरकारका पछिल्ला गतिविधिहरूले एक खालको मानसिक विचलन पनि झल्काउँछ—जहाँ आलोचना र असहमति होइन, केवल ताली, जयजयकार र चाकरी खोजिन्छ । यस्तो अवस्थाले शासन प्रणालीलाई कमजोर बनाउँछ, जसको असर हरेक तहमा देखिन थालिसकेको छ ।

अहिलेको प्रश्न हो— राज्यस्रोत खर्च गरेर कार्यक्रममा भीड उतार्ने नेताबाट जनताले के अपेक्षा गर्न सक्छन् ? जब सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर मात्र समर्थन देखाउनुपर्ने अवस्था आउँछ, त्यो दिनदेखि त्यो नेतृत्वको बचेखुचेको नैतिकता पनि समाप्त भएको मान्नुपर्छ ।

जनताले अब बुझ्न थालेका छन्— भीड होइन, नीति चाहिन्छ । भाषण होइन, समाधान चाहिन्छ । इन्धन बाँडेर देखाइएको समर्थन दीर्घकालीन होइन, बरु आत्मघाती हो । किनभने सचेत समाजको सामना गर्न यस्ता खेलले कुनै प्रभाव पार्दैन, बरु अविश्वास मात्रै थपिदिन्छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully