जटिल चुनौती बन्दै काठमाडौंको वायु प्रदूषण

चैत्र २७, २०८१

पाठक पत्र

Kathmandu's air pollution is becoming a complex challenge

काठमाडौं उपत्यका, जुन पहिले नेपालको सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रतीक थियो, आज वायु प्रदूषणको चपेटामा परेको छ ।

यहाँको हावा दिनानुदिन दूषित बन्दै गएको छ र यो समस्याले जनस्वास्थ्य, पर्यावरण र समग्र जीवनशैलीमै गम्भीर असर पारिरहेको छ । प्रदूषणका कारणहरू पहिचान गर्नॅ र तिनको समाधान खोज्नु अब अपरिहार्य भएको छ ।

काठमाडौंमा वायु प्रदूषण बढ्नुका पछाडि धेरै कारण छन् । सवारी साधनको अत्यधिक प्रयोग र तिनबाट निस्कने धूवाँ प्रमुख कारक हो । पुराना गाडीहरू, कम गुणस्तरको इन्धन र मर्मतको अभावले हावामा सूक्ष्म कणहरू थपिरहेका छन् । त्यस्तै, निर्माण कार्यबाट उड्ने धूलो, वन डढेलोको धूवाँ र उद्योगहरूबाट निस्कने प्रदूषणले पनि यो संकटलाई गहिरो बनाएको छ । उपत्यकाको कचौरा आकारको भौगोलिक बनावटले प्रदूषित हावालाई बाहिर निस्कनबाट रोकेर समस्या झनै जटिल बनाइदिएको छ ।

यसबाहेक, इँटाभट्टाहरूको भूमिकालाई बेवास्ता गर्न सकिँदैन । यी भट्टाहरूले कोइला, दाउरा र कहिलेकाहीं टायरजस्ता प्रदूषक इन्धन प्रयोग गर्छन्, जसबाट निस्कने धूवाँमा हानिकारक रसायन र कणहरू मिसिन्छन् । जसले हावालाई थप विषालु बनाउँछन् । सरकारले परम्परागत भट्टालाई ‘जिगज्याग’ प्रविधिमा रूपान्तरण गर्ने नीति ल्याए पनि कार्यान्वयन फितलो छ । त्यस्तै, फोहोर जलाउने प्रचलन र परम्परागत इन्धनको प्रयोगले पनि प्रदूषणको स्तरलाई उकासिरहेको छ ।

काठमाडौंको वायु प्रदूषण एउटा जटिल चुनौती हो, तर यसको समाधान भने असम्भव छैन । सरकार, नागरिक र निजी क्षेत्रको संयुक्त प्रयासले मात्र यो संकटबाट पार पाउन सकिन्छ । यदि अहिले नै कदम चालिएन भने स्वच्छ हावाको अभावमा काठमाडौंको पहिचान र यहाँका बासिन्दाको भविष्य दुवै संकटमा पर्नेछन् । समयले ढिलाइ सहँदैन— अब कार्यान्वयनको पालो हो ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully