यतिखेर दुई ठूला दल मिलेर सरकार चलाएका छन् । तथापि आमजनतामा आशा बाँड्ने काम उनीहरूले गर्न सकेका छैनन् । यस कारण अहिले सडक अशान्त छ, जनता आक्रोशित छन् ।
वर्तमान सरकार आफ्नो दायित्वलाई बिर्सेर प्रतिशोधको राजनीतिमा रमाएको छ । अरूलाई मात्र गाली गर्ने र प्रतिशोधको राजनीति गरिरहने हो भने यो सरकारको जनस्तरबाटै थप विरोध हुने निश्चित छ । सच्चिने कि सकिन्ने भन्ने विकल्प दुई ठूला दलको काँधमा छ । पटक–पटक प्रधानमन्त्री बन्दा पनि कुनै ठोस काम र आशा देखाउन नसकेका नेतालाई फेरि किन प्रधानमन्त्रीको कुर्सी चाहिएको हो, बुझिनसक्नु छ । किन चाहियो शेरबहादुर देउवालाई पुनः प्रधानमन्त्रीको पद ? किन केपी शर्मा ओली र पुष्पकमल दाहालहरूले युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्न सक्दैनन् ? ठूला दलहरू जनसरोकारका विषयमा गम्भीर बन्न नसके असन्तुष्टि थप बढ्नेछ । यसपालिको आक्रोश व्यवस्थाको विरोधभन्दा पनि दलका शीर्ष नेताको अक्षमता र भ्रष्ट चरित्रमाथिको आक्रोश हो । निश्चय नै गणतन्त्र असल व्यवस्था हो । नेताहरूले गल्ती गरे चुनावबाट त्यस्ता नेतालाई जनताले पराजित गर्न सक्छन् । गत चुनावमा राजावादी पार्टी राप्रपाले कुल खसेको मतको ५ प्रतिशत मात्र पाएको छ । यसले पनि देखाउँछ– मुलुकमा राजावादीको हैसियत के छ भन्ने । तथापि गणतन्त्रवादी नेताले चरित्र सुधार गर्न भने जरुरी छ ।
- गोपाल देवकोटा
काठमाडौं महानगरपालिका–७, चाबहिल, पीपलबोट
