सुन्दै पनि जोकोहीलाई अचम्म लाग्छ । प्रहरीले गोली चलाउँछ अनि ‘झुक्किएर गोली लागेको’ प्रतिक्रिया दिन्छ । प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नु हो, न कि अन्धाधुन्ध गोली चलाउने ।
मान्छेको ज्यानसँग खेलबाड गर्ने छुट हाम्रो कानुन र संविधानले कसैलाई पनि दिँदैन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले ‘झुक्किएर गोली लागेको’ मात्रै प्रतिक्रिया दिएका छैनन्, ‘कसैको घरको छतमा गएर प्रहरीले अश्रुग्यास नहानेको’ पनि दाबी गरेका छन् । यतिसम्म झूट नबोलेको भए पनि हुने ।
किनकि, अहिले सामाजिक सञ्जालमा धेरैको पहुँच छ । विभिन्न ‘भिडियो क्लिप’ र ‘फुटेज’ हरूले उनको बोलीलाई शतप्रतिशत गलत साबित गरिदिन्छन् । आन्दोलनका नाममा राजावादीले सडकमा देखाएको तोडफोड, आगजनी र लुटपाटका घटनाको जति निन्दा गरे पनि कम हुन्छ । तर, प्रहरीजस्तो संवेदनशील सरकारी निकायले धैर्यता र संयम मात्रै अपनाएको भए सायद तीनकुनेको घटनाले मानवीय क्षति नै हुने किसिमको यति ठूलो रूप लिने थिएन होला ।
- पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
