प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर पाँचदिने औपचारिक भ्रमणका सिलसिलामा थाइल्यान्डमा छन् । थाई प्रधानमन्त्री माइतोङतार्न सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा ओली पहिलो पटक त्यहाँ गएका हुन् ।
थाइल्यान्डको औपचारिक भ्रमणसँगै उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् ।
हाम्रा नेताहरू विदेश त निकै पटक भ्रमण गर्छन् तर त्यहाँबाट सिक्नचाहिँ केही सिक्दैनन् । यहाँको विकास निर्माण कछुवाको गतिमा छ, समृद्धि पछि परेको छ र आमजनताले वर्षौंदेखि दुःख पाइरहेका छन् । थाइल्यान्ड विश्वको पाँचौं सबैभन्दा धेरै धान उत्पादन गर्ने राष्ट्र हो । उनीहरूले कसरी आफ्नो उत्पादकत्व वृद्धि गर्न सके ? सरकारले कस्तो सहयोग गरेको छ ? कसरी समयमै मलखाद र बीउको वितरण हुन्छ भन्नेजस्ता कुरा प्रधानमन्त्रीले थाइल्यान्डबाट सिक्न सके मुलुकलाई पनि फाइदा नै पुग्ने थियो ।
दुई महिनाअघि मात्रै दोहोर्याएर थाइल्यान्ड पुग्दा त्यहाँको वैभव र चकाचौंध देखेर म अवाक् भएको थिएँ । त्यहाँका होटलहरूमा त्यहाँको उत्पादनलाई कसरी प्रोत्साहन गरिएको छ भन्ने कुरा पनि हाम्रा प्रधानमन्त्रीले हेर्नुपर्ने महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ । १० वर्षअघि जाँदा र अहिले पुग्दा थाइल्यान्डले गरेको प्रगति वास्तवमै तारिफयोग्य नै लाग्यो । इच्छाशक्ति भएमा छोटो समयमा पनि धेरै कुरा गर्न सकिने रहेछ भन्ने कुरा मैले त्यहाँ देखें ।
हाम्रा नेताहरूमा भिजन र इच्छाशक्तिको कमी हो या उनीहरूमा विकास गर्ने तौरतरिकाको ज्ञानै नभएर हो, नेपाल र थाइल्यान्डको विकासमा देखिएको अन्तरलाई हेरेर गम्भीर छलफल गर्नुपर्ने समय आएको छ । उच्च पदस्थ नेताहरूको विदेश भ्रमण केवल तिनीहरूको व्यक्तिगत मनोरञ्जनका लागि मात्र नभएर देश विकासमा टेवा दिन पनि सहयोगी बनोस् ।
बैंककको राजधानीको बीचमा रहेको छाओफेरी नदीमाथि डुंगा सयर गरिरहँदा हाम्रो ग्वार्कोमा चार वर्षमा पनि पूरा हुन नसकेको एउटा सानो फ्लाइओभर ब्रिजको सम्झना आयो । बैंककदेखि पतायासम्मको बाटो र काठमाडौंदेखि पोखरासम्मको बाटोको तुलना गरें । यी कुरा सम्झिँदै पनि दुःख सिवाय केही लागेन ।
- गोपाल देवकोटा, काठमाडौं महानगरपालिका–७, चाबहिल पीपलबोट
