पापाचारको माहोलमा समृद्धि असम्भव

चैत्र २१, २०८१

पाठक पत्र

Prosperity is impossible in the atmosphere of sin

एसिया एवं विश्व मानचित्रमा नेपाल प्राचीन इतिहास बोक्ने मुलुकमध्येमा पर्छ । नयाँ एवं लामो इतिहास बोकेका अधिकांश देशले विकासमाथि अर्जुनदृष्टि राख्दै अघि बढेका कारण छोटो समयमै अरूलाई पछि पारिरहेका छन् ।

हाम्रो ओरालो यात्रा भने दिन प्रतिदिन भयावह बन्दै गएको छ, गरिबीको खाडल अरू गहिरो बन्दै गएको छ । ‘दक्षिण कोरिया र भियतनामबाट हामीले के सिक्ने, कहिले सिक्ने ?’ शीर्षक सम्पादकीयमा मुलुकको आर्थिक दूरवस्था समेटिनुका साथै युवामैत्री नीति निर्माण र सोको सफल कार्यान्वयनमा जोड दिइएको पाएँ ।

विशेषतः विगतका केही दशकमा दक्षिण कोरिया र भियतनामले विकासमा लगाएको दौड नेपालजस्तो अल्पविकसित मुलुकका निम्ति अनुकरणीय छ । सन् १९७० यता दक्षिण कोरिया र १७ वर्षे लडाइँबाट मुस्किलले पार पाएको भियतनामले सन् २००० यता आफ्ना गुणस्तरीय उत्पादन विश्वभर फिँजाएका छन् । गुणस्तरको कुरा गर्दा दक्षिण कोरियाले सुरुमा ‘नेलकटर’ बनाएर विश्वभर पुर्‍याएको, व्यक्ति–व्यक्तिको मन जितेको र अझैसम्म अरू मुलुकले सो सामानमा कोरियासँग प्रतिस्पर्धा गर्न नसकेको यथार्थ कसैले भुल्न सक्दैन ।

अहिले गुणस्तरीय औद्योगिक उत्पादनमा दक्षिण कोरियाले अग्रणी स्थान ओगटेको छ भने कृषि व्यवसायबाट माथि उठेको भियतनाममा अन्य उद्योगधन्दा पनि त्यत्तिकै फस्टाएका छन् । दक्षिण कोरियाले शिक्षा, प्रविधि र उद्यमशीलतामा ठूलो लगानी गरेको, युवालाई व्यावसायिक तालिम र सीप विकासमा संलग्न गराउन प्रभावशाली कार्यक्रम कार्यान्वयनमा ल्याएको, औद्योगिक अनुशासनमा आँच आउन नदिएको, कडा परिश्रम गर्ने राष्ट्रिय अभियानलाई निरन्तरता दिएको, मुलुकको सम्मान र गरिमा बढाउन जिम्मेवार नेतृत्व एकजुट भई लागिपरेको, निर्यातमुखी अर्थतन्त्रलाई विशेष जोड दिएको लगायत विषय उल्लेख्य छन् । नेपालमा त्यसको ठीक उल्टो परिदृश्य देख्न सकिन्छ । सधैं भ्रष्टाचारमा लिप्त रहने, मुलुकको विकास नचाहने, अरू देशले गरेको उन्नति प्रगतिलाई हँसीमजाकमा उडाउने, मपाईं बन्ने, विकासको फोस्रो भाषण घण्टौंसम्म गर्दा पनि नथाक्ने हाम्रो वर्तमान नेतृत्वबाट मुलुकको रूपान्तरण हुन सक्दैन । नेपालका १४–६४ उमेर समूहको जनसंख्या ६५.२ रहेको र सोको सदुपयोग गर्न सत्ताधारीले उपयुक्त नीति कार्यान्वयनमा नल्याएसम्म नेपाल हारिरहनेछ, समृद्धि सपना चकनाचुर बनिरहनेछन् ।

- भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक

Link copied successfully