विदेश पलायन नरोकिँदा पर्यटन क्षेत्रमा श्रमिक अभाव

चैत्र २०, २०८१

पाठक पत्र

Labor shortage in the tourism sector due to non-stop migration abroad

नेपालको पर्यटन क्षेत्र आज एक गम्भीर संकटसँग जुझिरहेको छ । यो संकट धेरै पाटोमा फैलिएको छ, जसमा श्रमिकको विदेश पलायन र दक्ष कामदारको अभाव प्रमुख विषय बनेका छन् ।

म आफूले व्यक्तिगत रूपमा अनुभव गरेको छु, जब मैले ठमेलको एउटा प्रसिद्ध रेस्टुरेन्टमा काम गरेँ, त्यहाँका श्रमिकको प्रमुख आम्दानी स्रोत सेवा शुल्क थियो । यसका माध्यमबाट उनीहरूले आफ्नो परिवारको पालनपोषण गर्दै आएका थिए । तर, २०७९ माघमा सर्वोच्च अदालतले सेवा शुल्कको प्रचलनलाई खारेज गरिदियो र यस निर्णयले सम्पूर्ण होटल र रेस्टुरेन्ट उद्योगमा ठूलो असर पारेको छ ।

अदालतको निर्णयले ग्राहकलाई सेवा शुल्कको बोझबाट मुक्त गरेको भए पनि, होटल र रेस्टुरेन्टका साहूहरूले भने मेनुमा १० प्रतिशत शुल्क वृद्धि गरेर त्यसको फाइदा आफैं उठाएका छन् । साहुहरूले ग्राहकमाथि शुल्क तिराएका छन् तर त्यो रकम श्रमिकको तलबमा परिणत गरिएको छैन ।

सेवा शुल्कको खारेजीले श्रमिकको जीवनयापनको आधारभूत पक्षलाई कमजोर बनाएको छ । अझ ठूलो समस्याका रूपमा, धेरै श्रमिकलाई यो आय घटेको अवस्थामा बाँच्न गाह्रो भएको छ र उनीहरूले विदेश पलायनको बाटो रोजेका छन् । यसले होटल र रेस्टुरेन्ट क्षेत्रमा दक्ष कामदारको अभाव ल्याएको छ, जसले दीर्घकालीन प्रभाव पार्न सक्छ । खाडी मुलुकहरूमा जोखिमपूर्ण काम र न्यूनतम सुविधासहित काम गर्न नेपाली श्रमिकहरूको बढ्दो संख्या, नेपालमा दक्ष कामदारको कमीले पर्यटन उद्योगको गुणवत्ता र वृद्धि रोकिने खतरा उत्पन्न गरेको छ ।
नेपालको पर्यटन उद्योगको समृद्धि भनेको यहाँको दक्ष श्रमिकमा निर्भर छ । यदि हामीले दक्ष कामदारको संरचनामा सुधार गर्न चाहन्छौं भने, सरकारले उनीहरूको तलब र कामका सर्तहरूमा सुधार ल्याउन आवश्यक छ ।

दक्ष श्रमिकहरूको अभावले नेपालमा पर्यटन उद्योगको विकासमा ठूलो बाधा पुर्‍याउन सक्छ । यसमा सरकारको स्पष्ट नीति र पारदर्शिता आवश्यक छ । नेपालमा श्रमिकको तलब वृद्धिको स्पष्ट र न्यायपूर्ण संरचना लागू नगरेमा, यी श्रमिकहरू विदेश पलायन गर्न बाध्य हुनेछन् । यसले न केवल होटल र रेस्टुरेन्ट उद्योगमा, बल्कि समग्र देशको अर्थतन्त्र र रोजगारीमा दीर्घकालीन असर पर्नेछ । यदि हामीले अझै यो संकटलाई नजरअन्दाज गर्‍यौं भने नेपाली पर्यटन उद्योग अझै कमजोर र अव्यवस्थित बन्दै जानेछ ।

यसको परिणामस्वरूप, पर्यटकको संख्या घट्न सक्छ, जसले नेपालको अर्थतन्त्र र रोजगारीलाई थप चुनौतीमा पार्नेछ । सरकार, व्यवसायी संघ र श्रमिक संगठनबीच सहकार्य गरेर मात्रै हामी यस समस्यालाई समाधान गर्न सक्छौं । एकजुट भएर मात्र नेपाललाई एक सशक्त पर्यटन गन्तव्य बनाउन सकिन्छ, जहाँ दक्ष कामदारको भविष्य सुरक्षित होस् र श्रमिकको आय सन्तुलित र न्यायपूर्ण होस् ।

- सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully