सन् १९४७ मा छिमेकी देश भारत अंग्रेजको पञ्जाबाट मुक्त भएको थियो । राणा शासनको पतन हुनाको एउटा कारण भारतीय स्वतन्त्रता र विदेशमा पढेर आएका युवा पनि थिए ।
त्यो बेला शिक्षा र सञ्चारको विकास आजजस्तो थिएन । आज त घरै बसेर भए पनि संसार बुझ्न सकिने संसार बनेको छ ।
व्यवस्था परिवर्तनका लागि यो देशमा आन्दोलन गर्दा छोटो अवधिमै धेरै धनजनको क्षति भइसकेको छ । तर जहिले पनि ‘काँक्रालाई थाँक्रा दियो थाँक्रै धनी’ भनेझैँ जसलाई विश्वास गरेर पदमा पुर्यायो उनै बेइमान निस्किए । पछिल्लो समयमा अति महँगो गरी प्राप्त गणतन्त्र, नेपालको संविधान २०७२ र संघीयता कार्यान्वयनसँगै प्राप्त ‘उपलब्धि’ ले पनि देश र जनतालाई अपेक्षित सुखी र सन्तोषी बनाउन सकेन । उल्टो, नीतिगत भ्रष्टाचारलाई जनताले चुपचाप स्विकार्नुपर्ने अवस्था आयो ।
जनताको सेवा गर्ने भनिएका दल र तिनका समर्थक नै दलाल, बिचौलिया र ठेकेदार भए । शक्तिशाली बनेका कारण कतिपय स्थानीय सरकारमा मनपरीतन्त्र देखियो । तीनै तहका सरकारमा सेवा सुविधा लिनमा ‘कोभन्दा को कम’ को अवस्था देखियो । वैदेशिक ऋण बढेको बढ्यै छ । देशमा उत्पादन र रोजगारी बढ्न सकेन । युवा वर्गको विदेश पलायन रोक्ने प्रयास गर्नुको साटो त्यसलाई प्रोत्साहन गर्न थालियो । ज्ञानभूमि, तपोभूमि र शान्तिभूमि नेपाललाई चिन्न र चिनाउन सकिएन ।
यो देशका लागि धेरै ‘योगदान’ गरिसक्नुभएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र हुनेवाला लाइनमा रहनुभएका शेरबहादुर देउवासमेतले नेपाली जनतासमक्ष आफूले गरेका गल्ती र कमजोरी स्विकार्दै तत्कालका लागि उपयुक्त पात्र चयन गरी निजलाई आवश्यक अर्तीबुद्धि दिँदै शासनको कार्यभार हस्तान्तरण गर्ने राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्नु सर्वोत्तम हुनेछ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई सहिद बनाएर कलंक बोकेका जुद्धशमशेर त ‘राजर्षि महाराज’ कहलाइँदै सत्ताबाट संन्यास लिएका थिए ।
राजा र संसद्बीच लामो संघर्षपछि सन् १६८८ मा बेलायतमा ‘गौरवमय क्रान्ति’ भएको थियो । तर त्यहाँ हल्यान्डका विलियम अफ अरेन्ज र मेरीलाई आमन्त्रण गरी राजारानी तुल्याइएको थियो । हामीकहाँ त्यस्तो अवस्था होइन । यहाँ सरकार र जनताबीच असन्तुष्टि चुलिएको हो, त्यो पनि धेरै समय भएको छैन । विगतमा व्यवस्था परिवर्तनका लागि दिल्ली सम्झौतालगायतका सहमति/सम्झौता भारतीय भूमिमा गरिए । अब नेपाल र नेपालीको हितका लागि हुने कुनै पनि सम्झौता नेपाली भूमिमै हुनुपर्छ । यसका लागि पनि एक पटक, आन्दोलनका नाममा धनजनको क्षति व्यहोर्नु नपर्ने गरी ‘गौरवमय क्रान्ति’ चाहिँ हुनैपर्छ ।
- इन्द्रकुमार श्रेष्ठ, हाल: सिर्जनानगर, भक्तपुर
