देउवाको टेकोमा ओलीको दम्भ

चैत्र १९, २०८१

पाठक पत्र

Oli's pride in Deuba's take

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेदेखि सामाजिक सञ्जाललगायत संसद् तथा सडक सबैतिर सरकारको विरोध सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलगायतका दलले प्रधानमन्त्रीले कुलमानलाई बर्खास्त गर्नुपर्नाको चित्तबुझ्दो जवाफ खोजिरहेका छन् । तर प्रधानमन्त्री भने गैरजिम्मेवार जवाफ दिँदै पन्छिरहेका छन् ।

गठबन्धन सरकारको प्रधानमन्त्री जो कतिबेला आफैँ प्रधानमन्त्रीको कुर्सीबाट हुत्याइने हो, कुनै निश्चित छैन । एकातिर राजावादीको बढ्दो चहलपहलले सरकारलाई झस्काइरहेको छ भने सहयात्री गणन्त्रवादीलाई नै चिढ्याउने गरी सरकारले पछिल्ला जुन गतिविधि गरिरहेको छ, यसले सरकार अझै कमजोर अवस्थामा पुगेको सहजै अनुमान गर्न सकिन्छ ।

वर्तमान सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका सभापति तथा ‘पर्खाइका प्रधानमन्त्री’ का रूपमा रहेका शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन रहेको भनेर उक्साइरहेका छन् । ओली त्यही आडमा उम्लिएर प्रतिपक्षीलाई चिढ्याउने अभिव्यक्ति दिइरहेका छन् । यसले वर्तमान सत्ता गठबन्धनकै आयु घटाइरहेको कुरा प्रधानमन्त्री ओलीले बेलैमा बुझ्नु जरुरी छ ।

अहिले सडकमा देखिएको भीड सांकेतिक रूपमा मात्रै आएको हो र ओलीले यसैगरी प्रतिपक्षी र सर्वसाधारण जनतालाई रुष्ट पार्ने गरी एकपछि अर्को अभिव्यक्ति दिँदै गए भने कुलमानको पुनःस्थापना मात्रै होइन, ओली सरकार नै तलमाथि पर्न बेर छैन । यसर्थ देउवाको टेको समाएर ओलीले आफ्नै धरातल बिर्सिएर ठूला कुरा नगरेको राम्रो होला । अन्यथा उनको ‘सरकारले एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सिद्धियो, कहाँ पार्लियामेन्टमा जवाफ दिने ?’ भन्ने जवाफ नै सत्ता लडाउने अस्त्र बन्न बेर लाग्ने छैन ।

- सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक पत्र

Link copied successfully