सत्यका सिपाहीको अन्तिम यात्रा

चैत्र १८, २०८१

पाठक पत्र

The last journey of the soldier of truth

सुरेश रजक अब रहेनन् । यो सुन्दा, पढ्दा, बुझ्दा पनि अझै विश्वास गर्न गाह्रो लाग्छ । उनको हत्या केवल एक व्यक्तिको मृत्यु होइन, सत्यका लागि लड्ने एउटा साहसी आवाजको घाँटी निमोठिएको घटना पनि हो ।

उनले जीवनभर अन्यायको पर्दा च्यात्ने प्रयास गरे, पीडितहरूको आवाज बने । तर, उनको आफ्नै आवाज चिरशून्यतामा विलीन पारियो ।

उनी पत्रकारिता गर्नेहरूमध्येका एक थिएनन्, जो सुरक्षित दूरीबाट समाचार लेख्छन् । उनी तीमध्येका थिए, जो प्रश्न गर्न डराउँदैनथे । जसले भ्रष्टाचारमा लिप्तहरूलाई ऐना देखाउँथे । समाजका अँध्यारा कुनामा पसेर उनले उज्यालो खोजे, पीडितहरूको पक्षमा कलम चलाए । तर, यही कलम कतिपयलाई असह्य बन्यो । अन्ततः उनलाई रोक्न केवल मृत्यु नै बाँकी रह्यो ।

सुरेश मात्र होइनन्, सविन महर्जन पनि यही असह्यताकै सिकार बने । उनी कुनै पत्रकार थिएनन्, कुनै सामाजिक अभियन्ता पनि होइनन् । उनी केवल एउटा सपना देख्ने युवा थिए । तर, उनका सपना अधुरै रहे । एउटा सामान्य दिन, सामान्य बाटो, अनि अचानक आएको मृत्यु ! के अब समाजमा को बाँच्न लायक छ, को मर्नुपर्छ भन्ने निर्णय शक्तिशालीहरूले मात्र गर्ने हुन् ?

तर, आश्चर्य यही छ कि यस्ता घटनापछि समाज केही दिनको शोकमा डुब्छ, केही आक्रोशित आवाज उठ्छन्, अनि फेरि मौनता छाउँछ । हामी कति सहजै बिर्सन्छौं, कति सजिलै आफ्नै सुरक्षाको नाउँमा आँखा चिम्लन्छौं ! के सुरेशले कलम चलाएको केवल आफ्ना लागि थियो ? के सविनले बाँच्ने सपना देखेको केवल आफूका लागि मात्रै थियो त ?
यदि हामी फेरि मौन बस्यौं भने, पर्खंदै गर्‍यौ भने, भोलि अर्को सुरेश ढल्नेछ, अर्को सविन हराउनेछ । सत्यका सिपाहीहरूको मृत्यु बेकार नहोस्, निर्दोषहरू अब सुरक्षित महसुस गर्न सकून् । यही नै सुरेश र सविनलाई साँचो श्रद्धाञ्जली हुनेछ ।

- सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully