शुक्रबार राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी र अराजक आन्दोलनका क्रममा एक जना पत्रकार र अर्का एक सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।
उनीहरू यस आन्दोलनभन्दा पृथक् रहेको र सर्वसाधारण व्यक्तिका रूपमा उनीहरूले अनाहकमा ज्यान गुमाए । यस अराजक आन्दोलनको जति निन्दा गरे पनि कमै हुन्छ ।
तर यसको दोषभागी को त ? स्थितिलाई यस तहसम्म कसले उत्तेजक बनायो ? पत्रकारले फोटो खिचिरहेको घरमा कसले आगो लगायो ? कसले बाहिर निस्किने ढोकामा ताल्चा लगाइदियो ? पत्रकारलाई बाहिर आउनै दिइएन । उनलाई बचाउन राज्य पनि चुकेको देखियो । अब प्रश्न उठ्छ– पत्रकार र अर्का एक सर्वसाधारणको मृत्युको दोष राजावादीले लिने कि सरकारले ? अब यी यावत् प्रश्नको उत्तर खोज्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिनुपर्छ । सरकारी छानबिन समितिले मात्र यसको निष्पक्ष छानबिन गर्न सक्दैन ।
शुक्रबारको घटनामा त्रिपक्षीय कमजोरी भएका छन् । दुर्गा प्रसाईंले आफैं गाडी चलाएर निषेधाज्ञा तोड्नु र अरूलाई उक्साउनु, सरकारले पनि आन्दोलन रोक्ने नाममा निजी घरका छतमा चढेर बन्दुक र अश्रुग्यास प्रयोग गर्नु र नेताहरूको जथाभावीको बोली, व्यवहार र चरित्रले पनि शुक्रबारको घटना हुनुमा बल पुग्यो । विशेषतः शीर्ष नेताहरूको विवेकले काम नगर्दा र जथाभावी बोल्दा पनि आन्दोलनमा आगोमा घिउ थप्ने काम गर्यो । आमजनता अहिले पनि गणतन्त्रको विरोधी छैनन् तर त्यसका सञ्चालकहरूको भ्रष्ट प्रवृत्तिले भने उनीहरू पनि आक्रोशित पक्कै छन् । गणतन्त्रको विकल्प उत्तम गणतन्त्र हो न कि राजतन्त्र । राजाको निरंकुश शासनमा लेख्ने र बोल्ने स्वतन्त्रता थिएन । पत्रपत्रिकाहरूमा सेन्सरसिप थियो । न्युज रुममै सेना परिचालन गरिएका थिए, इन्टरनेटसमेत अवरुद्ध पारिएको थियो । नमिता सुनिता काण्डहरू घट्थे तर अनुसन्धान नै हुँदैन थियो । हुकुमी शासनले आमजनता विक्षिप्त थिए । उद्योग, कलकारखाना खोल्न दरबारलाई खुसी नपारेसम्म लाइसेन्स नै पाइँदैन थियो । यदि इतिहासका त्यस्ता नराम्रा कुरा नयाँ पिँढीलाई राम्रोसँग बुझाउन सकियो भने सडकमा निस्केका युवाले पक्कै पनि राजावादी आन्दोलनको समर्थन गर्ने छैनन् ।
- गोपाल देवकोटा, काठमाडौं महानगरपालिका–७,
चाबहिल, पीपलबोट
