राजावादी आन्दोलनले राजधानीमा नांगो नाच नै देखायो । राजतन्त्रको पुनःस्थापनाका नाममा काठमाडौंका सडकमा हिंसा, आगजनी, लुटपाट, पत्रकार र सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण गरियो ।
यस्ता घटनाले देशलाई थप अस्थिरतामा डुबाउने निश्चित छ । आजको परिप्रेक्ष्यमा यी आन्दोलनकारी संवैधानिक राजतन्त्रको पुनःस्थापनाका नाममा जुन प्रकारको अराजकता मच्चाइरहेका छन्, त्यसले ‘राजनीतिक आन्दोलन’ भन्दा ‘अराजक माफियाको लुटतन्त्र’ जस्तो स्वरूप लिइरहेको छ ।
एभिन्युजका पत्रकारलाई जिउँदै घरमा आगो लगाएर हत्या गरिएको घटनाले यो आन्दोलनको वास्तविक उद्देश्यलाई स्पष्ट पार्छ । यदि राजावादीहरू सही छन् भने, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा किन उल्लंघन गरिरहेका छन् ? आन्दोलनका नाममा कान्तिपुर, अन्नपूर्णलगायतका मिडिया हाउसमा तोडफोड, पत्रकारलाई धम्की र सत्यलाई लुकाउने प्रयास असल उद्देश्यले प्रेरित छ त ? यो घटनाले देखाउँछ कि यिनीहरूको आन्दोलन शान्तिपूर्ण प्रदर्शनका नाममा तर्साउने र दमन गर्ने रणनीतिमा आधारित छ । यसले ‘संविधान र लोकतन्त्रको रक्षा गर्ने’ भन्दा पनि ‘दमन र भय फैलाउने’ योजनालाई बढावा दिइरहेको छ ।
कथित आन्दोलनकारी भनिने अराजकहरूले जलाएको घरमा आगो निभाउन गएको दमकल मात्र तोडफोड नगरिएको भए एभिन्युजका पत्रकार बाँच्थे, तसर्थ उनको मृत्युलाई ‘राजावादीले गरेको हत्या’ कै रूपमा बुझ्नु आवश्यक छ । यसको जिम्मा दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, नवराज सुवेदी, धवलशमशेर राणा र ज्ञानेन्द्र शाहहरूले लिनैपर्छ ।
यस आन्दोलनको नेतृत्वमा रहेका दुर्गा प्रसाईंजस्ता व्यक्तिले जनताको मर्म बुझेर राजतन्त्रको पुनःस्थापनाका लागि संघर्ष गरिरहेका होइनन् । यी व्यक्ति आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्न राजतन्त्रका नाममा आन्दोलन चर्काउँदै छन् । भाटभटेनीजस्ता व्यापारिक केन्द्रहरूमा तोडफोड, निर्दोष नागरिकको घर जलाउनु र पसल लुट्नु भनेको मुलुकलाई अराजकता र द्वन्द्वतर्फ धकेल्नु हो । के यही ‘संवैधानिक राजतन्त्र’ फर्काउने उपयुक्त उपाय हो ? यसले राजतन्त्रको विचारलाई हीन र बदनाम बनाइरहेको छ र यसले संगठित अपराधको स्वरूप लिइरहेको छ । राज्यका सुरक्षाकर्मीमाथि आक्रमण गर्नु, उनीहरूका गाडी जलाउनु र हातहतियार खोस्ने प्रयास गर्नु भनेको राज्यको कानुनी संरचनालाई नष्ट गर्ने उद्देश्य पनि हो ।
सरकारको मूकदर्शक भूमिकालाई लिएर पनि अब गम्भीर प्रश्न उठाउनुपर्ने बेला आएको छ । तीनकुने, कोटेश्वर, सिनामंगल क्षेत्रमा तीन–चार घण्टासम्म हिंसा मच्चिरहेका बेला सुरक्षा संयन्त्र निष्क्रिय देखिए । के सरकारले यो घटनालाई आफ्नो राजनीतिक स्वार्थअनुसार उपयोग गर्दै छ ? यदि सरकार सचमुच जनताको पक्षमा उभिन चाहन्छ भने हिंसा रोक्न र दोषीलाई कारबाही गर्न पछि पर्नु हुँदैन ।
हिजोको घटनाले यो पनि प्रमाणित गरेको छ कि यो आन्दोलन राजतन्त्र फर्काउने होइन, बरु लोकतन्त्रलाई ध्वस्त पार्ने षड्यन्त्र हो । यस्ता गतिविधिले जनताको विश्वासलाई गुमाउँछन्, देशलाई झन् अराजकता र द्वन्द्वतर्फ धकेल्छन् ।
- सन्तोष सिम्खडा, टोकियो, जापान
