केयू उपकुलपतिका प्रत्यासीहरूको अंक सार्वजनिक गरियोस्

चैत्र १२, २०८१

पाठक पत्र

The marks of KU Vice Chancellor candidates should be announced

काठमाडौं विश्वविद्यालय (केयू) कै इतिहासमा पहिलो पटक शैक्षिक योग्यता र कार्यदक्षताका आधारमा उपकुलपति चयन गर्ने प्रक्रियाको थालनी गरी हामीलाई प्रोत्साहित गर्नुभएकामा प्रधानमन्त्रीज्यूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

संस्थापक उपकुलपति संयोजक रहेको तीन सदस्यसहितको छनोट समिति गठन भयो । कार्यविधि निर्देशिका पनि छोटो समयभित्र तयार भयो । कार्यविधि निर्देशिकामा निवेदक कुनै पार्टी विशेषको सदस्यता नलिएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएकाले विशुद्ध प्राज्ञिक क्षेत्रमा योगदान गरेका उत्साहित हुनु स्वाभाविक थियो । निर्देशिकामा छनोटको आधार भनेको शैक्षिक योग्यता, प्राज्ञिक अनुभव, उच्च शिक्षाका क्षेत्रमा हासिल गरेको नेतृत्वदायी अनुभव, व्यवस्थापकीय कुशलता एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय साधन स्रोतको परिचालन गरेको व्यक्ति भनी उल्लेख गरिएको थियो । छनोटका आधारहरू आफ्नो योग्यतासँग हुबहु मेल खाने देखेर मैले पनि निवेदन दिनु आफ्नो कर्तव्य सम्झें ।

उत्साहका साथ, मक्किसकेका प्रमाणपत्र, लब्धांकपत्र र अनुभवका प्रमाणपत्र जुटाउनतर्फ लागियो । सोचपत्र र रणनीतिक कार्ययोजना तयार पारी प्रस्तुतीकरण र अन्तर्वार्तामा समेत सहभागी भइयो । २० जनाबाट १० जनाको सूची प्रकाशित गर्ने क्रममा केही निवेदक यो सूचीमा नअटाएको देख्दा र आशा नै नगरेका अन्य निवेदक समावेश भएको पाउँदा छनोट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठ्न थाल्यो । पत्रपत्रिका र टेलिभिजनमार्फत काठमाडौं विश्वविद्यालयको प्रतिष्ठामाथि प्रहार हुने गरी समाचार सम्प्रेषण हुन थाल्यो । सामान्य अवस्था भएको भए अन्तर्वार्ता सकिएको केही समयभित्रै कुलपतिसमक्ष मेरिटका आधारमा तीन जनाको नाम पेस गरी सक्नुपर्ने थियो । समितिबाट नाम सिफारिस गर्न गरिएको ढिलाइको कारणबारे अनलाइन माध्यमबाट विभिन्न प्रकारका तर्कवितर्क आउन थाले ।

यसैबीच समितिका संयोजकले बीबीसी सञ्चारमाध्यममार्फत राख्नुभएको विवादास्पद धारणा बाहिरियो । कार्यविधि निर्देशिकाले निर्देशित गरेको परिधिभन्दा बाहिरको, कुनै एक जना व्यक्ति विशेषको नाम सिफारिस गर्न खोजिएको, मेरिटले मात्र नपुग्ने र संस्थाको हित गर्ने व्यक्ति हुनुपर्ने जस्ता उहाँका विचारले उपकुलपति छनोट प्रक्रिया निष्पक्ष नहुने र अझ लम्बिने आशंका जन्मायो । उपकुलपतिका प्रत्याशी आठ जनाले त लिखित रूपमै असन्तुष्टि व्यक्त गरे । विश्वविद्यालयका पदाधिकारीहरू समेतले समितिबाट मेरिटका आधारमा विश्वविद्यालयलाई छिट्टै उपकुलपति चयन गरी पठाउन लिखित अनुरोधपत्रसमेत पेस गरे । मैले कुनै पनि यस्ता विज्ञप्ति वा पत्रमा हस्ताक्षर गरिनँ किनभने प्रधानमन्त्रीज्यूबाट योग्यताकै आधारमा उपकुलपतिको चयन हुनेछ भन्ने कुरामा म विश्वस्त थिएँ ।

लामो अन्योलपछि काठमाडौं विश्वविद्यालयले उपकुलपति पाएको छ । चौथो उपकुलपतिका रूपमा विश्वविद्यालयको जिम्मेवारी पाउनुभएकामा नवनियुक्त उपकुलपतिलाई बधाई छ ।

विश्वविद्यालयलाई मेरो नेतृत्वदायी र व्यवस्थापकीय कुशलता आवश्यक पर्दा म कहिले पछि हटिनँ । हरेक अप्ठ्यारो परिस्थितिमा विश्वविद्यालय पदाधिकारीलाई साथ दिने अठोट गरें । काठमाडौं विश्वविद्यालयको अबको बाटो के हो त ? काठमाडौं विश्वविद्यालयमा तीन दशक बिताइसकेको म, सेवानिवृत्त हुने संघारमा पुगेको व्यक्ति, भावीपुस्तालाई मैले अवलम्बन गरेको बाटो गलत थियो भनेर म भन्न चाहन्नँ ।

त्यसैकारण प्रधानमन्त्रीज्यूलाई मेरो विनम्र अनुरोध छ कि हामी उपकुलपतिका प्रत्याशीहरूको अंक सार्वजनिक गरियोस् । राजनैतिक सम्बन्धनका आधारमा यसपालिको उपकुलपति छनोट भएको होइन, काठमाडौं विश्वविद्यालय राजनीतिक भागबन्डामा परेको वा पारिएको छैन र विशुद्ध शैक्षिक योग्यता एवं कार्यदक्षताका आधारमा उपकुलपतिको चयन भएको छ भन्ने विषयमा हामी पनि विश्वस्त हुनेछौं ।

- प्रा.डा. सुबोध शर्मा
पूर्वरजिस्ट्रार एवं उपकुलपतिका प्रत्याशी

पाठक

Link copied successfully