सरकार हाँक्ने दल नै सडक संघर्षमा जानु दोगलापन

चैत्र १०, २०८१

पाठक पत्र

The party that runs the government is hesitant to go to the street struggle

सत्तारूढ दल एमालेले ‘लोकतान्त्रिक गणतन्त्र बचाउ अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ । चैत ११ देखि ३० गतेसम्म देशव्यापी जनचेतना कार्यक्रम, प्रदर्शन र मोटरसाइकल र्‍याली आयोजना गर्ने तयारी गरेको ई–कान्तिपुरमै पढ्न पाइयो ।

एमालेले राजावादी प्रवृत्ति सक्रिय भएकाले गणतन्त्र जोगाउन सडक संघर्ष आवश्यक भएको तर्क गर्दै आएको छ । सैद्धान्तिक रूपमा लोकतान्त्रिक मूल्य बचाउने अभियान राम्रो देखिए पनि यहाँ मूल प्रश्न उठ्छ– सरकारमै रहेको दलले किन सडक संघर्ष गर्नुपरेको हो ?

सरकार हाँक्ने दलले नीति निर्माण गर्ने, संविधानको रक्षा गर्ने र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने दायित्व र जिम्मेवारी पनि बोकेको हुन्छ । तर, शासन सुधार गर्ने जिम्मा लिएको दल आफैं सडकमा उत्रिनु अलिक नसुहाउने कुरा भएन र ?

सत्तारूढदल आफैं सडकमा उत्रिँदा कि ऊ कमजोर छ कि त उसले आफैंमाथि अविश्वास गरेको छभन्ने पनि अर्थ लाग्छ । सरकारमा रहेर प्रभावकारी शासन दिनुपर्ने दल नै सडकआन्दोलनमा उत्रिनु भनेको दोगलापन पनि हो । आफैं संकट सिर्जना गर्ने अनि आफैं उपचार गर्ने नाटक मञ्चन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको रवैया वास्तवमै बुझिनसक्नु छ ।

सरकार चलाउनेले शासनमा सुधार गर्नुपर्छ, सडक तताउने होइन । विकास, रोजगारी, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधार गर्न सके मात्र लोकतन्त्र बलियो हुन्छ । खालि नाराजुलुस, मोटरसाइकल र्‍यालीर भाषणले गणतन्त्र बच्दैन । इतिहासले देखाएको छ– वास्तविक संकट शासकको कमजोरीले ल्याउँछ, बाहिरी शक्तिले होइन ।

लोकतन्त्रको रक्षा गर्नुपर्ने जिम्मेवारी सडकमा नाराबाजी गरेर पूरा हुँदैन । यो राज्य संयन्त्रलाई प्रभावकारी बनाउने, सुशासन कायम गर्ने र नीति सुधार गर्ने कार्यद्वारा मात्र सम्भव छ । तर, सत्ताभोग गरिरहेका नेताहरूले नै सडक संघर्ष गरेर जनतालाई झुक्याउने खेल खेले भने अन्ततः आन्दोलन गर्ने पालो जनताकै आउनेछ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully