गत असार महिनामा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै सुरु भएको ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङबीचको टकराव यतिबेला झनै उत्कर्षमा पुगेको छ ।
मन्त्री खड्काले घिसिङलाई पदबाट बर्खास्त गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
मन्त्रीखड्का नेपालमा लोडसेडिङ हटाउन सहयोग गरेको जस भारतलाई दिनुपर्ने भनेर बारम्बार कुलमानप्रति रोष पोखिरहेका छन् । एकातिर लोडसेडिङ हटाउने जस भारतलाई जाने भनेर भन्ने र अर्कातिर नेपालमा लोडसेडिङ अझै पनि कायमै रहेको भन्ने मन्त्री खड्काको अभिव्यक्ति आफैंमा विरोधाभासजनक छ ।
२०७८ साउनमा नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्ति पाएका घिसिङलाई अहिलेसोही पार्टीका ऊर्जामन्त्रीले यसरी बारम्बार हमला गरिरहनुका पछाडि के कारणछ, अहिलेसम्म त्यो विषय सतहमा आएको छैन ।
पछिल्लो समय त खड्का र घिसिङले दिनहुँजस्तै एकले अर्काको कुराको खण्डन गर्नुपर्ने अवस्था आएको छ ।भारतबाट दैनिक २० घण्टा खरिद हुँदै आएको बिजुली कटौती भएर १२ घण्टामा झरेपछि मन्त्री खड्काले लोडसेडिङको हवाला दिँदै घिसिङको बदनाम गराउँदै आएकाछन् । जबकि, घिसिङले अहिलेकै अवस्थामा लोडसेडिङ नहुने ठोकुवा गर्दै आएका छन् ।
मन्त्री खड्काले केही दिनअघि राष्ट्रिय सभामा प्राधिकरण अझै पनि साढे दुई खर्ब घाटामा रहेको भनेर घुमाउरो ढंगले घिसिङको आलोचना गरेका थिए ।महालेखा परीक्षक कार्यालयको प्रतिवेदनका आधारमा नै उक्त कुरा बोलेको मन्त्री खड्काले बताए पनि प्राधिकरणले बारम्बार आफूलाई नाफामा देखाउँदै आइरहेको छ ।
के घिसिङले यतिका समयसम्म प्राधिकरण नाफामा गएको भनेर झूटोबोल्दै आएका हुन् त ? दुई कार्यकाल गरी झन्डै आठ वर्ष प्राधिकरणमा बिताएर अवकाशोन्मुख हुँदै गरेका घिसिङको कार्यसम्पादनमा मन्त्रीले उठाएको प्रश्नबारे दुनियाँले अवश्य पनि मूल्यांकन गर्नेछ र दूधको दूध पानीको पानी छुट्याउने नै छ ।
— सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
