पछिल्ला केही वर्षयता माओवादी केन्द्रको अस्तित्वमाथि पटक–पटक प्रश्न उठ्दै आएको थियो । पार्टीभित्र निरन्तर भएका विभाजन, सांगठनिक कमजोरी, जनतासँगको कमजोर सम्बन्ध र सरकारमा रहँदा प्रभावकारी काम गर्न नसकेको आरोपले माओवादीको राजनीतिक भविष्यबारे शंका उत्पन्न गराएको थियो ।
कतिपयले त माओवादीको युग समाप्त भइसकेको निष्कर्ष निकाल्नसमेत भ्याएका थिए । तर, हालै सम्पन्न उपनिर्वाचन र स्ववियु निर्वाचनको नतिजाले ती अड्कललाई गलत साबित गरिदिएका छन् ।
केही महिनाअघि सम्पन्न उपनिर्वाचनमा माओवादी केन्द्रले राम्रै प्रदर्शन गरेको थियो । विभिन्न क्षेत्रमा पार्टीले आफूलाई बलियो रूपमा उभ्याउन सकेको देखियो । यी परिणामले माओवादी अझै प्रतिस्पर्धात्मक रहेको प्रमाणित गर्यो ।
यसैगरी, हालै सम्पन्न स्ववियु निर्वाचनमा पनि माओवादीनिकट अखिल (क्रान्तिकारी) ले प्रभावशाली प्रदर्शन देखाएको छ । देशभरका क्याम्पसमा बलियो उपस्थिति जनाउँदै संगठनले ८१ क्याम्पसमा जित दर्ता गरेको छ । यो परिणाम विद्यार्थी राजनीतिमा माओवादीको पकड अझै कायमै रहेको संकेत पनि हो ।
पछिल्ला केही वर्षयता क्रान्तिकारीको प्रभाव घट्दै गएको चर्चा थियो तर यस पटकको जितले संगठनको पुनरुत्थानको संकेत दिएको छ ।
माओवादी केन्द्रले उपनिर्वाचन र स्ववियु चुनावमा यसको भ्रातृ संगठनले राम्रो नतिजा ल्याउनुका पछाडि केही कारण अवश्य छन् । सांगठनिक संरचनालाई बलियो बनाउने प्रयास पहिलो कारण हो भने जनतासँगको पुनः सम्बन्ध निर्माण गर्ने रणनीति र प्रतिस्पर्धी दलको कमजोरी र आपसी फाटोमा खेल्ने कौशल पनि क्रान्तिकारीको जितका कारण हुन् ।
तर, यी सफलता पार्टीका लागि मात्र संकटकालीन राहत बन्न सक्दैनन् । माओवादीले लामो समय सत्तामा बसेर प्रभावकारी परिवर्तन ल्याउन नसकेको गुनासो जनतामा व्याप्त छ । यी सफलताले संगठनलाई उत्साह त दिएको छ तर अबको मुख्य चुनौती भनेको स्थायी रूपमा संगठनलाई सबल बनाउनु पनि रहेको छ ।
माओवादीको युग समाप्त भइसक्यो भन्ने सोच्नेलाई पछिल्ला उपनिर्वाचन र विद्यार्थी चुनावको नतिजाले ठोस जवाफ दिएको छ । तर चुनावी सफलता मात्र पर्याप्त छैन । यदि माओवादीले आफ्नो पुरानो क्रान्तिकारी चरित्रलाई पुनःस्थापित गर्दै जनताको विश्वास जित्न सक्छ भने मात्रै यो पुनरुत्थान स्थायी बन्न सक्छ । नत्र यी परिणाम क्षणिक साबित हुने निश्चित छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
