संगीत कि व्यक्तिगत भँडास ?

चैत्र ६, २०८१

पाठक पत्र

Music or personal belongings?

संगीत समाजको ऐना हो, जहाँ सिर्जनात्मकता, भावनात्मक गहिराइ र कलात्मक अभिव्यक्ति मिसिएको हुन्छ । तर पछिल्लो समय नेपाली संगीत उद्योगमा एउटा अनौठो प्रवृत्ति देखिन थालेको छ– कलाकारले आफ्ना व्यक्तिगत जीवनका असफलता, द्वन्द्व र भँडासलाई गीतमार्फत सार्वजनिक गर्ने ।

एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाबीचको सम्बन्धविच्छेदपछि आएका उनका गीत हुन् वा दुर्गेस थापाको ‘दुश्मन हेर्‍याको हेर्‍यै होस् र भिटेनका व्यक्तिगत घटना बोकेका र्‍याप गीतले संगीतको कलात्मक मूल्य घटाइरहेका छन् ।

कलाकारको व्यक्तिगत जीवनले सिर्जनामा प्रभाव पार्छ, यो स्वाभाविक कुरा हो । तर जब संगीत मौलिक कलाभन्दा व्यक्तिगत रिसइबी पोख्ने माध्यम मात्र बन्छ, तब यसको गहिराइ गुम्छ । साँचो कलाकारिता भनेको आफ्ना व्यक्तिगत अनुभवलाई यति कलात्मक रूपमा प्रस्तुत गर्नु हो, जसले आम मानिसलाई छुने मात्र होइन, लामो समयसम्म प्रेरणादायी पनि रहोस् । संगीत केवल भाइरल हुने हतियार होइन, यो आत्माको भाषा पनि हो । अहिलेको प्रवृत्ति हेर्दा लाग्छ– गीत–संगीत सामाजिक सञ्जालमा ट्रेन्डिङ हुने लोभमा सिर्जनात्मक मौलिकता गुमाउँदै छ । यो विषयमा कलाकार र श्रोताले नै गम्भीरतापूर्वक सोच्ने बेला आइसकेको छ । नेपाली संगीतले लोकप्रियताको सस्तो बाटो लिने कि कालजयी सिर्जनाको मूल्य अँगाल्ने– यो प्रश्न आजको पुस्ताले नै समाधान गर्नुपर्नेछ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully