गणतन्त्र ल्याउन पक्कै पनि तपाईं पुष्पकमल दाहालको योगदान उच्च छ । तथापि गत आठ महिनायताको कार्यसम्पादनमा कमजोर सरकार भएर नै अहिले राजावादी जुर्मुराइरहेको भनेर तपाईंले गरेको टिप्पणी भने समय सान्दर्भिक लागेन ।
के राजावादीको आन्दोलनमा हजारौं जनताको सहभागिता भएको यही आठ महिनाको परिणामले हो ? विगतदेखिका सबै दलको नाममा फाइदा लिने दलालको तुषका कारण यो सब भएको होइन र ?
त्यसै गरी, गणतन्त्रका नाममा भाइ–भतिजा, श्रीमती, फुपू, फुपाजु तथा गोरु बेचेको साइनो भएकालाई समेत
सत्ताको भर्याङमा उकाल्ने कामको अपजस कसले लिने ? भ्रष्टाचारको क्यान्सर रोग लागेको कहिलेदेखि ?
सत्तामा हुँदा जाती अनि बाहिर बस्दा गोमन सापको व्यहोरा कसले सिकायो ?
गिट्टी, बालुवा ठेकेदारलाई अन्तर्राष्ट्रिय कूटनीतिकस्तरको राजदूत पदमा नियुक्त कसले गर्यो ? यसो गर्दा सबै मिलेको होइन ? तपाईं पनि कति पटक प्रधानमन्त्री हुनुभयो र माओवादी दल कैयौं पटक सरकारमा रह्यो तर देशमा रोजगारी सिर्जना नहुनुको भागीदार को–को हुने त ?
तपाईं कम्युनिस्टहरू नफुटेको भए आज यो हालत हुन्थ्यो होला र ? के अब कम्युनिस्ट एकता गरेर पद त्यागी संरक्षकको भूमिका निर्वाह गर्न सक्नु हुन्छ ?
यसरी गणतन्त्र जोगाउन र सुशासन कायम गर्न अब पनि एकअर्कामा हिलो छ्याप्ने हो र मिल्न सकिएन भने आफ्नैले निल्न बेर छैन ।
— खिमराज गिरी, काठमाडौं
