२२ फागुनमा कान्तिपुरमा प्रकाशित ‘१ करोडसम्म बुझाएर अमेरिका पुगेका ९ नेपाली एक वर्ष नहुँदै फर्काइए’ शीर्षक समाचार पढ्दा साह्रै दुःख लाग्यो ।
मानव तस्करको फन्दामा परेर करोडौं रुपैयाँ खर्च गरेर अमेरिका पुगेका ती नेपाली आखिर बेइज्जतीपूर्वक पुनः नेपाल फर्काइएका छन् । अमेरिकाबाट नेल–हतकडीमै डिपोर्ट गरी पठाइएको त्यो दृश्य ज्यादै कहालीलाग्दो छ ।
दलालको चक्करमा गैरकानुनी रूपमा अमेरिका पुगेका एक महिलालगायत ९ जना नेपाली नागरिकलाई अमेरिकी चार्टर्ड विमानबाट काठमाडौं विमानस्थलका सम्बन्धित अधिकारीलाई जिम्मा लगाइएको हो । यसरी गैरकानुनी रूपमा अमेरिका छिरेको आरोपमा पक्राउ परेका अन्य थुप्रै नेपालीलाई पनि धमाधम स्वदेश फर्काउन थालिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गैरकानुनी रूपमा अमेरिकामा रहेका सबै विदेशी नागरिकलाई डिपोर्ट गर्ने नीतिअन्तर्गत उनीहरूलाई स्वदेश फर्काइन थालिएको हो । गत माघ महिनायता मात्रै ३६ भन्दा बढी नेपालीलाई स्वदेश ल्याइसकिएको छ ।
अमेरिका छिर्न सजिलो पटक्कै छैन । तथापि नेपाली युवा यसरी गैरकानुनी यात्रा गर्न किन तम्सिन्छन् ? किन यस्ता कहालीलाग्दा समाचार देख्दैनन् यी युवाहरूले ? अनि सरकारी संयन्त्रले यसरी विदेश जाँदा आवश्यक प्रमाण, विश्वासिलो माध्यम, गन्तव्य मुलुकको कानुन, पारिश्रमिक व्यवस्थाबारे सचेत गराउन किन पहल गर्दैन ?
– गंगाराज अर्याल, पाणीनि–८, अर्घाखाँची
