कान्तिपुरले ‘स्वास्थ्य उपचार गर्दा आर्थिक रूपमा थला पर्ने अवस्था’ बारे सम्पादकीयमार्फत पस्केको विचार गम्भीर र महत्त्वपूर्ण लाग्यो ।
वास्तवमा नेपालमा सर्वसाधारण जनताका लागि स्वास्थ्य उपचार खर्च यति महँगो छ कि आर्थिक रूपले थला नै परिन्छ । सबै नागरिकका लागि स्वास्थ्यमा समान पहुँचको व्यवस्था भए पनि त्यो कुरा व्यवहारमा लागू हुन सकेको छैन । सीमित पहुँचका कारण नै मुलुकको स्वास्थ्य अवस्था गम्भीर बनेको हो । कैयौं घरपरिवार प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा खर्चिनुपरेको रकमका कारण बेघरबार हुनुपर्ने अवस्था साँच्चै दर्दनाक छ ।
वास्तवमा नेपालमा स्वास्थ्य समस्याको अवस्था चुनौतीपूर्ण छ । यहाँको भौगोलिक विविधता, जनतामा अझै शिक्षाको कमी, आर्थिक असमानता, स्वास्थ्य सेवाको सीमित पहुँच, नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसक्नु, प्रविधिको कमी, संक्रामक रोग ज्यादा फैलनु, त्यस्तै गैरसंक्रामक रोग पनि अत्यधिक मात्रामा लाग्नु, मानिसले खानपान तथा व्यायाममा ध्यान नदिनु, ग्रामीण क्षेत्रमा मातृ तथा शिशु मृत्युदर अझै कम नहुनु, धन कमाउने प्रलोभन तथा पारिवारिक चिन्ताका कारण मानसिक स्वास्थ्य समस्या देखिनु नै यस क्षेत्रका प्रमुख समस्या हुन् ।
नेपालका प्रायः सरकारी तथा निजी अस्पतालमा जाने हो भने रातदिन बिरामीको चाप बढेको देखिन्छ । प्रायःको एउटै गुनसो सुनिन्छ– गम्भीर रोग लागे पनि यदि पहुँच छैन भने बिरामीले समयमै उपचार पाउँदैनन् । गरिबका लागि त झन् आकाशको फलसरह भएको छ ।
सहर बजारमा त स्वास्थ्यमा पहुँच यस्तो छ भने दूरदराजका गाउँबस्तीको हालत झन् के होला ? सोच्दै कहाली लागेर आउँछ । तर हाम्रा नेता भने सहरबजारको रमझममा बसेर यति रकम बिमा गरिएको छ र जनताले राम्रो स्वास्थ्य उपचार पाइरहेका छन् भन्नमै मक्ख छन् । वास्तविक रूपमा सरकारी अस्पतालको कुरा गर्ने हो भने गरिब जनतालाई लाइन लाग्दैमा सास्ती छ । निजी अस्पतालमा गम्भीर बिरामीका लागि २४ घण्टामा १ लाखको बिल आउँछ अनि कसरी गरिबका लागि सम्भव छ यहाँ उपचार ?
आज कैयौं मानिस आर्थिक अवस्थाकै कारण मृत्यु रोज्न बाध्य छन् । आफू मरेर गए पनि बाँचेका परिवार र सन्तानका लागि भविष्य अन्धकार हुने ठानेर मृत्युवरण गर्न पुग्नु कहाँसम्मको अपराध हो, यसतर्फ पनि हाम्रा नेताको ध्यान जाओस् ।
राम्रो सरकारी नीति, लगानीको उचित वातावरण र ग्रामीण क्षेत्रसम्म स्वास्थ्यमा सहज पहुँचको व्यवस्था गर्दा यी समस्या स्वतः समाधान भएर जानेछन् । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने, नयाँ प्रविधिको प्रयोग, विद्यालयस्तरबाट नै स्वास्थ्यसम्बन्धी जानकारीमूलक सान्दर्भिक तथा जीवनोपयोगी अध्ययन गराउन आवश्यक छ ।
६० वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि जस्तोसुकै रोग लागे पनि निःशुल्क उपचारको व्यवस्था गर्ने, जलवायु परिवर्तनका कारण देखिएका स्वास्थ्य चुनौतीबारे समयमा नै सजग रहने कुरामा पनि सरोकारवाला निकायको ध्यान जान जरुरी छ । अन्यथा यही अवस्था रहने हो भने अबको केही वर्षमा स्वास्थ्य उपचार अभावमा मृत्यु कुर्नुको विकल्प रहने छैन ।
– खिमराज गिरी, काठमाडौं
