दलकै कारण राजावादी सडकसम्म

चैत्र १, २०८१

पाठक पत्र

Because of the party to Rajawadi road

भनिन्छ, ‘आफ्नो थैलीको मुख राम्रोसँग बाँधेर राखे अरूलाई चोरीको दोष लगाउन पर्दैन ।’ तर आफैंले घरको मूलढोका खुलै छोडेर हिँड्ने अनि चोरी भयो भन्दै कोकोहोलो गर्दै हिँड्नुचाहिँ मूर्खता हो ।

अहिले नेपालको राजनीति ठीक यही अवस्थाबाट गुज्रिरहेको छ । २०६५ जेठ १५ मा तत्कालीन राजा ज्ञानेन्द्रले जुन तरिकाले राजगद्दीसहित ७ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको नारायणहिटी राजदबार छोडेर निस्किएका थिए, विश्वले नै यो कल्पना गरेको थिएन कि राजाले त्यति सहजै राजगद्दी छोडेर निस्कनेछन् । तर उनले रक्तपातबिना नै नेपालमा गणतन्त्र स्थापना गराउन सहज भूमिका निर्वाह गरे । उनको यो सदासयतालाई पनि नकारात्मक दृष्टिले हेर्न मिल्दैन ।

राजाले जुन विश्वासले तत्कालीन राजनीतिक दललाई नेपालको शासनसत्ताको बागडोर जिम्मा लगाएर नारायणहिटी छोडेका थिए, त्यस घटनाको १६ वर्ष बितिसक्दा पनि नेपालको सर्वाङ्गीण विकासमा कुनै फड्को नमारेको देखेर नै राजा पुनः सलबलाउन थालेका हुन् भन्ने जोकोहीले सहजै बुझ्ने अवस्था छ । राजालाई यो अवस्थामा आउने ठाउँ दिएको पनि यिनै राजनीतिक दलले नै हो ।

राजतन्त्रका विरुद्ध एक भएका दलहरू राजतन्त्रको अन्त्यपश्चात् पुनः फरक–फरक कित्तामा उभिन पुगे । दलगत रूपमा फरक–फरक विचार भए तापनि राष्ट्रियताको विषयमा सबै दलको एउटै धारणा हुनुपर्थ्यो तर त्यसो हुन सकेन । त्यसैको फाइदा राजा र राजावादीले उठाउन खोजेका हुन् ।

त्यसो त सत्ताकै लागि आरोप–प्रत्यारोपमा उत्रिएका दलका लागि राजा र राजावादीले बेलाबेला यसैगरी झस्काउन जरुरी पनि छ । ०६२/६३ को जनआन्दोलनमा राजतन्त्रका विरोधी बनेका धेरै जनता आज राजतन्त्रकै पक्षमा फर्किसकेका छन् । यस्तो अवस्थाको सिर्जना हुनुमा पनि राजनीतिक दल नै मुख्य जिम्मेवार छन् ।

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक पत्र

Link copied successfully