दलाल मात्र होइन, हामी पनि उत्तिकै दोषी छौं !

फाल्गुन २९, २०८१

पाठक पत्र

Not only brokers, we are equally guilty!

अमेरिका यात्राको भुलभुलैयामा पर्ने नेपालीका कथाव्यथा पढ्दा साह्रै चित्त दुख्यो । दलाललाई त्यत्रो पैसा बुझाएर विदेशै जान मरिहत्ते गर्ने हामी पनि यस मामिलामा कतै दोषी पो छौं कि भन्ने लाग्यो ।

दलालको फन्दामा परेर विदेश उड्ने नेपालीको कन्तबिजोग देख्दा दया पनि जागेर आयो । बरु स्वदेशमै रही आँटोढिँडो खाऊँ र दुःखसुख गरेर यतै बसौं । स्वदेशी कुटो–कोदालो गर्नमै रमाऔं ।
- डा. सुमनकुमार रेग्मी, कुपन्डोल, ललितपुर

चोर बाटो भनेको चोर बाटो नै हो । पैसा लिने दलाल मात्र होइन, पैसा दिने पनि यसमा दोषी छन् । पहिले अमेरिका जान पाइन्छ भने जति पनि पैसा दिन तयार हुने र बीचमै पक्राउ परेर फर्किनुपरेपछि उल्टै दलाललाई अपराधी बनाई कोच्ने काम भइरहेको छ । चोरलाई धन्सारको चाबी बुझाएपछि के हुन्छ, त्यति पनि नबुझ्ने नेपाली देख्दा दुःख लाग्यो ।
- सकिव नेपाल, जमल, काठमाडौं

३३ लाख रुपैयाँ खर्च गरेर अमेरिका जान मरिहत्ते गर्ने नेपालीलाई के भन्ने र खोइ ? त्यति पैसाले नेपालमै मजाले स–सानो व्यापार व्यवसाय र कुटीर उद्योग चलाउनै पुग्छ । सम्भावना नै सम्भावना भएको देश छोडेर अमेरिका जान किन यति मरिहत्ते हो ?
- नेत्र पौडेल, चितवन

दलाललाई खुवाउने पैसाले आफ्नै थातथलोमा स्थानीयस्तरमा माग रहेको सेवा विस्तार, कृषि कर्म र पशुपालन गरेर पनि बिहान–बेलुकाको छाक टार्न सकिन्छ । कर्ममा विश्वास गर्ने र देखासिकी एवं अहिले र भर्खरै कमाउने सोच त्याग्न सके दुःख पाइँदैन कि π
- सामवेद शर्मा चापागाईं, काठमाडौं

दिमागले अमेरिकाबाहेक केही नसोच्ने, आँखाले अमेरिकाबाहेक केही नदेख्ने र मुखले अमेरिकाबाहेक केही नबोल्ने भएपछि समस्या भएको हो । अमेरिकी सपनाको अन्धभक्त हुनुको परिणामले नै यस्तो भुलभुलैया सिर्जना गरिरहेको छ ।
- संगम बिवा, विराटनगर

पाठक पत्र

Link copied successfully