नेपालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कुनै समय विद्यार्थी आन्दोलनको मेरुदण्ड थियो । यसको स्थापना २०१९ मा भएको हो र पहिलो चुनाव २०२१ मा सम्पन्न भएको थियो ।
पञ्चायतविरोधी आन्दोलन, २०४६ को प्रजातन्त्र पुनःस्थापना, २०६२/६३ को जनआन्दोलनजस्ता ऐतिहासिक घटनामा स्ववियुले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
शुल्क नियन्त्रण, विद्यार्थी अधिकार रक्षा र क्याम्पस सुधारजस्ता मुद्दामा स्ववियुको योगदान अविस्मरणीय छ । तर पछिल्ला वर्षमा यो हिंसा, गुटबन्दी र राजनीतिक हस्तक्षेपको अखडा बन्दै गएको पनि उत्तिकै साँचो हो । स्ववियुको चुनाव नियमित नहुने, विद्यार्थी संगठन आफ्ना वास्तविक मुद्दाबाट विमुख हुने र क्याम्पसहरू झडपको थलो बन्ने विडम्बनापूर्ण स्थिति पनि हामीले देखेकै छौं ।
नेपालमा स्ववियु राजनीतिक हस्तक्षेप र हिंसाको पर्याय बन्दै गइरहेका बेला विकसित देशका विद्यार्थी संगठन शान्तिपूर्ण, रचनात्मक र प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् । जापानमा शिक्षासम्बन्धी सुधार, सांस्कृतिक गतिविधि र विद्यार्थी विकासमा उनीहरू केन्द्रित रहेका देखिन्छन्, जहाँ हिंसाको कुनै स्थान छैन ।
अमेरिकामा नेतृत्व विकास, नीति निर्माण र विद्यार्थी हकहितमा विद्यार्थी संगठन क्रियाशील छन् । त्यसैगरी बेलायतमा विद्यार्थी कल्याण, मानसिक स्वास्थ्य र शैक्षिक सुधारजस्ता मुद्दामा उनीहरू केन्द्रित भएको देखिन्छ । जर्मनीको विद्यार्थी संगठन त विद्यार्थी र प्रशासनबीच पुलको काम गर्दै शिक्षा नीतिमा सुधार ल्याउने कार्यमा केन्द्रित भएको देखिन्छ । फ्रान्स र अस्ट्रेलियाका विद्यार्थी संगठनहरू पनि शान्तिपूर्ण आन्दोलनमार्फत विद्यार्थी सुविधाका लागि दबाब सिर्जना गरिरहन्छन् । यी संगठनहरू शैक्षिक सुधार, संस्थागत समर्थन र गैरराजनीतिक चरित्र भएका कारण नेपालका विद्यार्थी संगठनका लागि प्रेरणादायी हुन सक्छन् ।
हामीकहाँ तुलनात्मक रूपमा हेर्दा स्ववियु शैक्षिक सुधारमा भन्दा राजनीतिक प्रभाव जमाउने खेलमैत्री संगठनजस्तो बनेको छ । विकसित देशमा विद्यार्थी संगठन शिक्षा, सीप विकास, नीति निर्माण र विद्यार्थीको हकहितमा काम गर्छन् तर नेपालमा विद्यार्थी संगठनहरू राजनीतिक गुटबन्दी र सत्ता संघर्षको औजार मात्र बनेका देखिन्छन् । स्ववियुमा विद्यार्थीको वास्तविक संलग्नता घट्दै जानुको प्रमुख कारण यो पनि हो ।
विकसित देशका विद्यार्थी संगठनहरूबाट शान्तिपूर्ण आन्दोलन, संस्थागत सुधार र शैक्षिक नेतृत्वजस्ता पाठ सिकेर स्ववियुले आफ्नो गुमेको सम्मान फिर्ता ल्याउन सक्छ । यदि स्ववियुमा सुधार भएन भने भविष्यमा विद्यार्थीको आवाज थप कमजोर बन्नेछ र शैक्षिक संस्थाहरू थप अव्यवस्थित बन्ने निश्चित छ । स्ववियुले समयमै सच्चिएर पुरानो ढर्रालाई त्यागी विद्यार्थीको वास्तविक हितमा काम गर्ने कि !
– सन्तोष सिम्खडा, टोकियो, जापान
