त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु चुनाव गर्ने निर्णय गरेको छ । यसअघि लामो समयको अन्तरालमा भएको चुनावको म्याद सकिएपछि समयमै चुनाव गर्ने कार्यतालिका प्रकाशित गर्नु त्रिभुवन विश्वविद्यालयको परिपक्व निर्णय हो ।
विद्यार्थीमा सक्षम नेतृत्व विकास गराउने सबैभन्दा राम्रो अवसर स्ववियु चुनावलाई मानिन्छ । अहिलेका जति पनि जल्दाबल्दा नेता दलमा छन्, ती सबै प्रायः विद्यार्थी राजनीतिबाट उदाएको कुरामा कुनै शंका छैन । यसबाट समेत बुझ्नुपर्ने कुरा के हो भने विद्यार्थी अवस्थादेखि नै राजनीतिमा चासो राख्ने, नेतृत्व लिन खोज्ने, नेतृत्वमा पुगेपछि बोलेअनुसारका काम गर्ने गुणको विकास गराउने माध्यम स्ववियु चुनाव नै हो । विद्यार्थीका लागि यो निकै राम्रो अवसर पनि हो ।
तर विद्यार्थीले पाएको यति राम्रो अवसरलाई समेत सदुपयोग गर्न सकेनन् भने त्यो उनीहरूका लागि पश्चात्ताप हुने निश्चित छ । त्यसकारण विद्यार्थीहरू यतिबेला एकमत र एकसाथ लागेर स्ववियु चुनावमा होमिएर चुनाव सफल बनाउनतिर लाग्न जरुरी छ । तर यतिबेला देशका अधिकांश कलेजमा विद्यार्थी तनाव र द्वन्द्वमा रहेको बुझिन्छ । उनीहरू आफ्नै स्वविवेकले त्यसो गरिरहेका हुन् वा आफ्ना माउ–पार्टीबाट सञ्चालित भएका हुन्, बुझ्नुपर्ने कुरा छ । बेथिति र बेढंगले अगाडि बढिरहेको नेपालको राजनीतिमा दलहरूकै मनोमानी र अन्तिम निर्णय हुने गरेको छ, जुन अहिलेको आसन्न स्ववियु चुनावमा पनि देखिएको छ । विद्यार्थीहरू स्वतन्त्र ढंगले स्ववियु चुनावमा लाग्ने हो भने यस्ता परिस्थिति आउने थिएनन् । उनीहरू आफ्ना दलका निर्णय कुरेर बस्ने र हुबहु दलका आदेश मान्ने पिछलग्गु हुने हो भने कसरी यसलाई स्वतन्त्र विद्यार्थी युनियन मान्न सकिएला र ?
त्यसकारण विद्यार्थीले अहिलेको चुनावलाई आपसी सहमतिका आधारमा द्वन्द्वरहित तरिकाले चुनाव सफल बनाउन जरुरी छ । मतभेद पन्छाएर आएको अवसरको सदुपयोग गर्ने हो भने स्ववियु चुनाव फलदायी हुन सक्छ । अन्यथा कलेजहरूमा तालाबन्दी र आन्दोलन गरी निर्वाचन अवरुद्ध गर्ने प्रपञ्च चाल्ने हो भने त्यो आफ्नै लागि प्रत्युत्पादक बन्नेछ ।
– डा. नरनाथ पाण्डे, प्राध्यापक, मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुर
