आप्रवासीलाई हतकडी लगाउन पाइँदैन

फाल्गुन २८, २०८१

पाठक पत्र

Immigrants cannot be handcuffed

अमेरिकाजस्तो मानवअधिकारको दुहाइ दिएर नथाक्ने देशले नै मानवअधिकारको उल्लंघन गर्नु दुर्भाग्यसिवाय केही होइन । उसले मान्छेलाई जुन पशुजस्तो व्यवहार गरिरहेको छ, त्यसको जति नै भर्त्सना गरे पनि कम हुन्छ ।

आफ्नो नीतिअनुसार ऊ चलोस् तर हाम्रा देशका नागरिकलाई बिनाकसुर हतकडी लगाउन पाइँदैन । हामी गरिब भए पनि कसैको दास होइनौं । अमेरिका शक्तिशाली होला, त्यसो भन्दैमा अरूको अस्मितामाथि खेल्ने छुट उसलाई छैन ।

शक्तिशाली भए भन्दैमा कानुनभन्दा माथि कोही पनि हुन सक्दैन । त्यसकारण अमेरिकाको यो कदम सरासर गलत छ । उसका अगाडि बोल्न कोही सक्दैनन् भन्दैमा उसले जे गर्दा पनि हुन्छ भन्ने त होइन होला नि ! कम्तीमा गलतलाई गलत त भन्नै पर्‍यो । हामी अमेरिकाविरोधी होइनौं तर यो कदमको चाहिँ डटेर विरोध गर्छौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई देशनिकाला गरिरहेका छन् । एक हदसम्म त्यो ठीक पनि होला । उनको देशमा अनैतिक तरिकाले बस्न दिन्न भन्न पाइन्छ । तर हतकडी लगाएर एउटा अपराधीलाई समेत गर्न नमिल्ने व्यवहार आप्रवासीलाई गर्नु त भएन नि । हातमा हतकडी र गोडामा नेल लगाएर देशनिकाला गर्ने काम सरासर गलत छ । गाउँले युवा कुनै गिरोहको जालमा फसेर लाखौं खर्चेर अमेरिका छिरेकामा उसलाई उल्टै सजायस्वरूप हतकडी र नेल लगाइनु सरासर मानवअधिकारको घोर उल्लंघन हो ।

अनैतिक तरिकाले विदेश पठाउने गिरोहलाई सरकारले कारबाही गर्न नसक्दा, निगरानी राख्न नसक्दा र नियन्त्रण गर्न नसक्दा नेपाली जनताले पीडा भोग्नुपरेको छ । जबसम्म अनैतिक तरिकाले विदेश मान्छे पठाउने गिरोह र कम्पनीलाई कारबाही गरिँंदैन, यो समस्या समाधान हुँदैन । आफ्ना नागरिकको पनि जिम्मा लिन नसक्ने कस्तो निर्लज्ज सरकार हो हाम्रो ?

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully