दलहरू किन यतिविधि डराएका !

फाल्गुन २६, २०८१

पाठक पत्र

Why are the parties so afraid!

यतिबेला नेपालको राजनीतिक माहोलमा केही तरंग चढेको छ । राजावादीहरू राजालाई सिधै दरबारमा प्रवेश गराएर श्रीपेच लगाइदिनेसम्मको उद्घोष गरिरहेका छन् भने दलका शीर्ष नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओली एउटै स्वरमा राजालाई शालीन भएर बस्न चेतावनी दिइरहेका छन् ।

नेताज्यूहरू ! हामीले ल्याएको गणतन्त्र यति कमजोर छ र कसैले बोल्दैमा ढल्ने ? कतै जनचाहनाअनुरूप काम गर्न नसकेको पीडा राजालाई देखाएर उन्मुक्ति पाउने कोसिस त होइन यो ? पछिल्लो समय नेताहरूले एकपछि अर्को गल्ती गर्दै आएका छन् । त्यही भएर पनि उनीहरू डराएका हुन् कि !

लोकतन्त्रमा बोल्न पाइन्छ । त्यही भएर नै खुल्लमखुला राजवादीहरू सडकमा उत्रिएर आन्दोलित बनेका हुन् । उग्र प्रदर्शन गरिरहेका हुन् । यसको प्रमुख कारण दलका नेताहरू नै हुन् । १७ वर्ष भयो गणतन्त्र आएको । खोइ त के गरे यी दलका नेताहरूले भनेर जनताले प्रश्न गरिरहेका छन् ।

वास्तवमा गणतन्त्र नेता धनी र जनता गरिब बन्नलाई ल्याइएको होइन । जनता अधिकारका लागि सधैं लड्नुपर्ने, नेता कुर्सीको वरिपरि लडिरहने हो भने देशमा सुशासन कहिले आउँछ त ? व्यवस्था परिवर्तन भयो, अब जनताको अवस्था परिवर्तनतिर नेताहरू लाग्नुपर्‍यो । जनताको यो आवाज सुन्न नेताहरूले ढिला नगरून् ।

संसारमा असम्भव केही छैन, जनताले चाहे जे पनि हुन सक्छ । हिजो गणतन्त्र आउँछ भन्नेमा यिनै दलका नेताहरूको विश्वास थिएन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा भनेकै थिए– बयल गाडा चढेर अमेरिका पुग्ने सपना नदेखे हुन्छ । आखिर देशमा गणतन्त्र आयो । दलहरूप्रति जनता रुष्ट छन् । केही कार्यकर्ताले जयजयकार गरेको भरमा नेता मक्ख परेका छन् । कम्तीमा आफ्नो कर्तव्य के हो भनेर दलका शीर्ष नेताले बुझ्न सकेको भए आज गणतन्त्रको विरोधमा सडकमा यस किसिमको प्रदर्शन हुने थिएन कि !

देशमा आगोको झिल्को सल्केको छ । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने भोलि पछुताउनु पर्ला । जनतालाई यो दल, ऊ दलसँग मतलब छैन । बस्, देशमा सुशासन कायम हुनुपर्‍यो ।

- पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully