नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रकरणमा कांग्रेसका प्रभावशाली युवा नेता एवं महामन्त्री गगन थापाले ढिलै भए पनि राम्रो बोलेका छन् ।
उनले एउटा कर्मचारीका विरुद्धमा राज्य नै लागेर दोहोरी खेल्नु जायज नभएको र यस्ता नचाहिने कुरामा मन्त्रीहरू लाग्नु अनुचित भएको भनेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई सचेत पारेको कुरा पढ्दा खुसी नै लाग्यो ।
गगनले ५० वटा राम्रा कामलाई एउटै नराम्रो कामले ओझेलमा पार्ने बताउँदै सबै मन्त्रीले यो कुरा विचार गर्नुपर्ने सुझाव पनि दिएका छन् । तर सत्यका पक्षमा यति कुरा बोल्न गगनलाई ६ महिना लाग्नु भने बुझिनसक्नु छ ।
गगनजस्तो राजनीतिका माहिर खेलाडीलाई आमजनता कसको पक्षमा छन् ? जनता रिझाउन के कुरा बोल्नुपर्छ भन्ने कुरा राम्रोसँग हेक्का छ । सायद त्यस कारणले पनि कुलमान प्रकरणमा उनले ढिलै भए पनि सही कुरा, जनतालाई मनपर्ने कुरा बोलेका हुन् कि ?
उनले नचाहिने काम गर्ने, जनताको विपक्षमा काम गर्ने मन्त्री दीपक खड्कालाई मन्त्री पदबाट फिर्ता बोलाउन पनि आफ्नो पार्टी सभापतिसँग माग गरेको सुन्दा खुसी नै लाग्यो ।
– गोपाल देवकोटा, काठमाडौं–७, चाबहिल, पीपलबोट
