नेपालको उड्डयन क्षेत्रमा फेरि एउटा गम्भीर र लज्जास्पद घटना थपिएको छ । बुद्ध एयरको जनकपुर–काठमाडौं उडानमा रहेको एटीआर ७२ जहाजले अगाडिको नोज ह्वीलबिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गर्यो ।
झन् अचम्मको कुरा त के छ भने हराएको पांग्रा जनकपुर विमानस्थलमै भेटियो ! उडान भर्दा जहाज ठिक थियो, तर अवतरण गर्दा पांग्रा गायब— यस्तो अविश्वसनीय घटना कुनै हल्का लापरबाहीको परिणाम मात्र होइन, यो नेपालको उड्डयन सुरक्षामा गढेको प्रणालीगत कमजोरीको खतरनाक संकेत पनि हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षाका नाममा अनेकौं नियम बनाएको छ, तर कार्यान्वयनका हिसाबले ती कागजमै सीमित छन् । हरेक पटक यस्ता घटना हुँदा एयरलाइन्सहरूले ‘सुरक्षित अवतरण’ भन्ने शब्द प्रयोग गरी जोखिमलाई सामान्य बनाउन खोज्छन्, तर वास्तविकता भयावह छ । यो घटनाले प्राविधिक परीक्षण प्रणाली, मर्मत सम्भारको प्रभावकारिता र नियामक निकायहरूको निष्क्रियतामाथि गम्भीर प्रश्न उठाएको छ । जहाज उडान गर्नुअघि गरिने प्रि–फ्लाइट इन्स्पेक्सन कत्तिको भरपर्दो छ ? यति ठूलो यान्त्रिक त्रुटि कसरी नजरअन्दाज भयो ? यदि पाइलटको सीप नहुँदो हो त आजको घटना अर्को त्रासदीमा परिणत हुन सक्थ्यो ।
नेपालको उड्डयन इतिहास नियाल्दा मौसम, भूगोल वा अन्य बाह्य कारणलाई दोष दिने प्रवृत्ति छ, तर भित्री कमजोरीलाई कहिल्यै सुधार्ने चेष्टा गरिँदैन । सुरक्षामा हुने लापरबाही, नियामक निकायको अकर्मण्यता र एयरलाइन्सहरूको मुनाफाकेन्द्रित सोचका कारण यात्रुको ज्यान बारम्बार जोखिममा पारिएको छ । यस्तो गैरजिम्मेवारीपूर्ण व्यवस्थापनकै कारण नेपाललाई अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा पटक–पटक कालोसूचीमा पारिएको हो । सुधार नगर्ने हो भने अब यात्रुको ज्यान भाग्यको भरमा छोड्नुपर्ने कुरालाई नियति मान्नुपर्नेछ ।
अब प्रश्न उठ्छ— कति पटक भाग्यमा भर पर्नु ? हरेक दुर्घटनापछि ‘भाग्यले बचायो’ भन्ने मानसिकता राख्ने हो भने नेपाल उड्डयन क्षेत्रलाई विश्वसनीय बनाउन गाह्रो हुनेछ । सुधारको प्रयास नगरी बस्ने हो भने भविष्यमा अझ डरलाग्दा दुर्घटना दोहोरिने निश्चित छ । सरकार, एयरलाइन्स र नियामक निकायले अहिले नै कठोर कदम नचाले नेपालको उड्डयन क्षेत्र दिगो रूपमै बदनाम हुनेछ, अनि यसको मूल्य यात्रुहरूले अनाहकमा ज्यान दिएर चुकाउनुपर्नेछ ।
– सन्तोष सिम्खडा, टोकियो जापान
