पहिले गाउँ–गाउँबाट सहरका विश्वविद्यालयमा रहर बोकेर युवाहरू आउँथे । गाउँ छोडेर विश्वविद्यालय पढ्ने शिक्षित, दीक्षित हुने परिपाटीले गाउँ रित्यायो ।
गाउँ मात्रै रित्तिएन, गाउँको खेतबारी, गाउँले सद्भाव, आपसी भाइचारा, कला र संस्कृति सबै सम्बन्ध सहर पस्यो । अहिले सहरका सबै विश्वविद्यालय गाउँजस्तै रित्तिएका छन् । विश्वविद्यालय रित्तिएकामा न प्राध्यापकलाई चिन्ता छ, न त कर्मचारी र राजनीतिक संगठनहरूलाई । चिन्ता त केवल प्राध्यापक, डाक्टर, उपक्लुपति, रजिस्ट्रार, रेक्टर हुनका लागि छ ।
अहिले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहोल चर्किएको छ । विश्वविद्यालय रित्तिएर खाली गाउँजस्तै भएको अवस्थामा अहिले हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावले कसरी रित्तिएका विश्वविद्यालयमा विद्यार्थी पूर्ति गर्ने भन्ने विषयमा केन्द्रित रहन आवश्यक छ ।
दसौं हजार विद्यार्थी हुने क्याम्पसका भवन खण्डहर भएका छन् । भौतिक संरचना बेकामे भएका छन् । हजारौं विद्यार्थीले भाग लिने स्ववियु चुनावमा अहिले चार–पाँच सय पनि मतदाता हुँदैनन् । यसले के सन्देश दिन्छ ? तसर्थ अब विद्यार्थीलाई स्वदेशमै अध्ययन र रोजगारीको वातावरण सिर्जना गर्ने दिशामा विद्यार्थी संगठन केन्द्रित भई स्ववियु निर्वाचन गरून् । भविष्यका आशा र सम्भावनाका क्षेत्रमा विद्यार्थीलाई वातावरण मिलाइदिन विद्यार्थी संगठन तयार गरून् । अहिलेका विश्वविद्यालयका विद्यार्थी नेताहरू भविष्यमा यो देश हाँक्ने प्रधानमन्त्री, मन्त्री बनेर देशको सेवामा लागून्, सेवाभाव जागृत होस्, स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा असल व्यक्तिले स्थान पाओस् अनि बल्ल हुन्छ देश विकास ।
अहिलेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने कान्तिपुरले समाचार प्रकाशित गरेको छ । संगठन दर्ताका क्रममा भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीले क्याम्पसको भौतिक संरचना तोड्ने, कुर्सी, बेन्च, डेस्क भाँच्ने गरेको हर्कत २१ औं शताब्दीको स्ववियु निर्वाचनमा शोभनीय कुरा होइन । आधुनिक वैचारिक विमर्शको स्ववियु बनाउनु आजको टड्कारो आवश्यकता हो ।
– टंकप्रसाद गैरे, वालिङ–१३, स्याङ्जा
