आमाको त्यो संघर्ष

फाल्गुन २२, २०८१

पाठक पत्र

Mother's struggle

नेपालमा श्रम गरेर जीवन धान्न कति कठिन छ भन्ने कुरा कञ्चनपुरकी एक आमाको भोगाइले प्रस्ट पार्छ । आफ्नो दुधे छोरीलाई काखी च्यापेर बिहानदेखि साँझसम्म आइसक्रिमको ठेला गुडाउँदै उनले गरेको संघर्ष वास्तवमै कहालीलाग्दो छ ।

खेती किसानी गरेर पेट पाल्न नसकेपछि बाध्य भएर उनी परिवारसहित तराई झरिन् । तर, त्यहाँ झरेर पनि सहज जीवन जिउन सकिनन् । महँगी दिनानुदिन बढिरहेको र आम्दानी भने झन् घट्दो भएपछि उनी समस्यामा परिन् । यसरी दुई छाक जुटाउन बिहानदेखि बेलुकासम्म पसिना बगाउने उनीजस्ता नेपालीका कथा थुप्रै छन्, जसलाई समाजले सामान्य रूपमा हेर्छ, मनन कहिल्यै गर्दैन । वास्तवमा तिनको संघर्ष निकै मार्मिक लाग्यो ।

दुधे बालकका साथ संघर्ष गरिरहेकी ती आमा र हामी विदेशमा पसिना बगाइरहेका श्रमिकका बीचमा निकै समानता रहेको पाएँ । उनलाई आफ्नो परिवारलाई अघि बढाउन आफ्नै देशमा संघर्ष गर्नुपरेको छ भने हामीलाई पनि आफ्ना छोराछोरीको भविष्य बनाउन विदेशको बाटो समात्न बाध्य बनाइएको छ । हामीजस्ता प्रवासी नेपालीको जीवन यो संघर्ष र कष्टको गाथा हो, जहाँ एकातर्फ हामीले आफ्ना सन्तानको पहिलो शब्द, पहिलो कदमको सम्झना गुमाएका छौं भने अर्कोतर्फ ती आमाजस्ता संघर्षशील नारीले गरेको संघर्ष देख्दा आफ्ना दुःख पनि बिर्सिरहेका छौं ।

कञ्चनपुरकी ती आमाले आफ्नो नानीलाई काखी च्यापेर बजार डुल्नु परिरहेको छ, हामीले भने आफ्ना नानीलाई हजुरबा–हजुरआमाका साथमा छोडेर परदेशको भूमिमा पसिना बगाउनुपरेको छ । तपाईं दिनभरि ठेलामा आइसक्रिम गुडाउँदै हुनुहुन्छ, हामी परदेशमा मेसिनहरूको आवाजमा हराइरहेका छौं । तपाईंको छोरीलाई जोबनमा सँगै राख्न सक्नुहुन्छ, हामी आफ्ना छोराछोरीको पहिलो हिँडाइ, पहिलो शब्द बोल्ने क्षण, पहिलो स्कुले जीवन आदि सबै गुमाइरहेका छौं ।

बिहान–बेलुका दुई छाक जुटाउन तपाईंले घर–घर, गल्ली–गल्ली आइसक्रिम बेच्नुपर्छ, हामीले दिनरात ओभरटाइम गरेर, आफ्ना देशका चाडबाड भुलेर, आफ्ना मान्छेसँगको न्यानो साथ गुमाएर दुःख गर्नुपर्छ । तपाईंले गर्मीमा आइसक्रिम ठेलाको सहाराले घर चलाउनु हुन्छ, हामी हिउँ परे पनि, आँधी आए पनि कम्पनीको नियम मान्न बाध्य छौं ।

कहिलेकाहीँ सोच्न बाध्य हुन्छु– हामीजस्तो दुःख गर्ने जाति संसारमा अरू पनि होलान् त ? किन हाम्रा सन्तानले आफ्ना आमाबाबुबिना हुर्किनुपर्छ ? किन हाम्रा आमाबाबुले सन्तानबिना बुढ्यौली काट्नुपर्छ ? किन देशले हामीलाई अड्याउन सक्दैन ?

तर, फेरि लाग्छ, संघर्ष नै हाम्रो जीवनको पहिचान रहेछ । आज तपाईंबाट, हामीबाट, हाम्रा प्रवासी दाजुभाइ, दिदीबहिनीहरूबाट बगेको पसिनाले भोलिका दिनहरू उज्यालो बनाओस् । हाम्रा सन्तानहरूले हामीले भोगेको पीडा भोग्न नपरोस् । कञ्चनपुरकी ती आमाको संघर्षलाई सलाम, एक जना होइन, लाखौं नेपाली आमाको प्रतिनिधि हुन् उनी । उनको हिम्मत, उनकै नानीको भविष्य हो । यही संघर्ष एक दिन प्रेरणा बनोस् ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully