विश्वका ९९ प्रतिशत जनता युद्ध होइन, शान्ति चाहन्छन् । उनीहरू पुनः विश्वमा तेस्रो विश्वयुद्ध नहोस् भन्ने चाहन्छन् । हालैको अमेरिका र युक्रेनको वार्ता भिडियो संवाद हेर्दा ठिक त्यही चाहना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि देखियो । जुन अत्यन्तै स्वागतयोग्य कुरा हो ।
जेलेन्स्कीसँगको वार्तामा यदि ट्रम्पले कुनै गलत उद्देश्य नराखेर तेस्रो विश्वयुद्ध नहोस्, शान्ति स्थापना होस् भनेको हो भने त्यो जस्तो राम्रो र स्वागतयोग्य कुरा अरू के नै हुन्छ र ? नियत सफा राखेर बोलेको हो भने ट्रम्पलाई विश्वका सम्पूर्ण शान्तिकामी जनताले धन्यवाद दिनुपर्छ । तर होइन नियत अर्कै छ, भित्री चाहना शान्ति नभई युक्रेनको खनिज पदार्थ हत्याउन मात्र जेलेन्स्कीलाई दबाब दिएका हुन् भने त्यो भने गलत हुनेछ । ट्रम्पको नियत के रहेछ भनेर बुझ्न एक/दुई महिना कुर्नैपर्छ ।
भिडियो संवाद हेर्दा र सुन्दा ट्रम्पको आशय र कुरा शान्तिको पक्षमा देखियो । उनले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धको जुवा नखेल्न, युद्ध रोक्न, सिज फायर गर्न र शान्तिको पक्षमा काम गर्न भनेको देखियो । जुन सम्पूर्ण शान्तिकामी जनताको आवाज हो । बरु जेलेन्स्की भने शान्तिको पक्षमा नरहेको देखियो । के जेलेन्स्की सधैंभरि युद्ध मात्र मन पराउँछन् ?
रुससँग युद्ध गरेर जेलेन्स्कीले के पाए ? अन्य युरोपियन मुलकले उक्साउँदैमा रुससँग युद्ध गर्नु जेलेन्स्कीको भूल हो । यदि अमेरिकाले सहयोगको हात छोडिदिएको भए आज तीन वर्षसम्म युक्रेनको अस्तित्व रहन्थ्यो होला त ? उक्त युद्धमा अमेरिकाले मात्र ३ सय ५० अर्ब डलर युक्रेनलाई दियो । नेपाललाई आधा अर्ब डलर एमसीसी परियोजनाका लागि दिँदा त ठूलो भयो भने नेपालभन्दा ७ सय गुणा बढी सहयोग अमेरिकाले दिएकै आधारमा युक्रेन आजसम्म अस्तित्वमा छ भन्दा अत्युक्ति हुँदैन होला ।
तर दुःखको कुरा त्यति ठूलो धनराशि युक्रेनले विकास र समृद्धि अनि जनताको जीवनस्तर उठाउन होइन कि बम, बारुद र हतियार किन्न प्रयोग गर्यो । तसर्थ, अब जेलेन्स्कीले युद्धबाट आफ्नो कदम पछाडि हटाउनैपर्छ र रुसले पनि युक्रेनको कब्जा गरेको भूभाग छोड्नुपर्छ । जेलेन्स्कीले नेटोको सदस्यता लिने छैनौं भन्नासाथ युद्ध रोकिने सम्भावना पनि उत्तिकै रहेको सरोकारवालाहरूको दाबीमा सत्यता छ ।
– गोपाल देवकोटा, काठमाडौं महानगरपालिका–७, चाबहिल
