ट्रम्पको पहिरनबारे किन कुनै प्रश्न हुन्न ?

फाल्गुन १९, २०८१

पाठक पत्र

Why is there no question about Trump's clothes?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनको भ्रमणमा गएको भए र उनले जेलेन्स्कीको जस्तै पहिरन लगाएको भए के कुनै युक्रेनीले ट्रम्पसँग तपाईंले यस्तो पहिरन किन लगाएको भनेर प्रश्न गर्दैनथ्यो होला ।

‘तपाईंसँग एउटा सुट पनि छैन !’ भनेर तल्लोस्तरको अपमान त झन् गर्दै गर्दैनथ्यो ।
तर, जेलेन्स्कीलाई यही प्रश्न गरियो । प्रश्न गर्नुको अर्थ हो– अमेरिकी आफूभन्दा साना र कमजोर मुलुकका सरकार प्रमुखमाथि जस्तोसुकै हेपाहा प्रवृत्ति देखाउन पनि पछि पर्दैन । त्यति उच्चस्तरीय बैठकमा पहिरन र पोसाकका विषयमा एक अमेरिकी पत्रकारले हेपेर प्रश्न गर्नु र त्यसलाई रोक्ने काम राष्ट्रपति र उपराष्ट्रपति दुवैले नगर्नु उदेकलाग्दो कुरा हो । यसको जति नै निन्दा गरे पनि कम हुन्छ ।

सभ्य राष्ट्रको परिचय दिने हो भने अमेरिकाले यो प्रश्नमा विश्व समुदायसमक्ष माफी माग्नुपर्छ । जेलेन्स्कीले सुट नलाएर ओभल अफिसको अपमान गरे भन्ने तर्क पनि कुतर्क हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कमिज–पाइजामा वा धोती लगाएर अमेरिका जाँदा उनीसँग त्यस्तो प्रश्न गर्ने आँट कुनै अमेरिकीको होला ? सी चिनफिङसँग पहिरनका विषयमा प्रश्न गर्ने आँट अमेरिकीसँग होला ? हुँदैन । तर, जेलेन्स्कीलाई त्यसरी प्रश्न गर्नुका पछाडि उनको राष्ट्र कमजोर भएकाले नै हो । कमजोर राष्ट्रलाई बलियो राष्ट्रले कसरी हेप्दो रहेछ भन्ने ज्वलन्त नमुना पनि हो यो घटना । अतिथि देवो भवः को मर्म नै राष्ट्रपति ट्रम्पले धुजाधुजा पारिदिए ।

गोपाल देवकोटा
जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully