यहाँका राजनीतिज्ञले जनतालाई कसरी ठग्छन्, सत्ताको बल र राजनीतिको आडमा देशमा कसरी भ्रष्टाचार मौलाइरहेको छ, पहुँच पुग्नेले कसरी विदेशबाट सुन सहजै भित्र्याउन सक्छन् र भारी बोक्ने भरिया कसरी फस्छन् एवं फसाइन्छ,
विमानस्थलमा कसरी सेटिङ मिलाइन्छ भन्नेजस्ता कुराको यथार्थ चित्रण पछिल्लो समय हलहरूमा प्रदर्शन भइरहेको चलचित्र लाज शरणम्ले उजागर गरेको छ । कान्तिपुरमा प्रकाशित ‘कर्णालीको कथा, महेशको सन्देश’ ले पनि धेरै कुरा बोलेको छ ।
यो चलचित्रले यति मात्र कुरा बोकेको छैन, राजनीतिक विकृतिका साथै चलचित्रले कर्णालीको डोल्पाको भौगोलिक बनावट, त्यहाँका जनताको दुःख, पीडा, भोगाइ, स्वास्थ्य उपचार अभावकै कारण जनताले अकालमै मृत्युवरण गर्नुपर्ने बाध्यात्मक अवस्था, त्यहाँका बालबच्चामा देखिने गरेको कुपोषणको समस्यालाई चलचित्रले राम्रोसँग उतारेको छ ।
देशका कतिपय ठाउँमा अझै पनि स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक सेवाको अभाव भइरहेको भए पनि पछिल्लो समय अनावश्यक भ्युटावर निर्माण गर्ने जुन प्रतिस्पर्धा चलेको छ, त्यस विषयलाई पनि चलचित्रले न्यायोचित रूपमा समेटेको छ ।
‘लाज शरणम्’ हाम्रा नेता, मन्त्रीदेखि लिएर आमजनताले एक पटक हेर्नैपर्ने चलचित्रका रूपमा आएको छ । किनकि यसले देशको वर्तमान राजनीति र डोल्पाका जनताको भोगाइलाई राम्रोसँग उजागर गरेको छ ।
– सुजन देवकोटा
पालुङ्टार–४, गोरखा
