युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की आफ्नो युद्धग्रस्त देशका लागि सहयोग माग्दै फेरि एकपटक अमेरिकाको ढोका ढकढक्याउन पुगेका थिए ।
उनको देश जलिरहेको छ, नागरिक मर्न बाध्य छन् अनि युक्रेन अस्तित्वको संघर्षमा छ । युक्रेनी राष्ट्रपति अमेरिकासँग केवल हतियार वा आर्थिक सहायता मात्र होइन, वास्तविक ऐक्यबद्धताको खोजीमा थिए । तर, जेलेन्स्कीलाई सहयोगको सट्टा अपमान र उपहास मात्र प्राप्त भयो । यसबारे ईकान्तिपुरमा गोविन्द देवकोटाको आलेख समय सान्दर्भिक लाग्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई आफ्नै भूमि अमेरिकामा निम्त्याएर अपमानित गरे । सहयोगका लागि बिन्ती गरिरहेका एक देशका राष्ट्रपतिलाई तुच्छ शब्द प्रयोग गर्दै हतोत्साहित गरियो, उनको संघर्षलाई हल्का बनाइयो र युक्रेनले झेलिरहेको भयावह अवस्थालाई हाँसोमा उडाइयो । ट्रम्पको यो व्यवहार केवल जेलेन्स्कीका लागि अपमानजनक थिएन, यो सम्पूर्ण युक्रेनी जनताको पीडामाथि गरेको उपहास पनि थियो भन्ने लाग्छ ।
अमेरिकाले युक्रेनलाई युद्धको सुरुवाती दिनमा जुन सहयोग गर्ने बचन दिएको थियो, त्यसअनुसार गरेन । अमेरिकाले सुरुमा युक्रेनलाई साहस र समर्थनको शब्द दियो, तर जब युद्ध लम्बियो र अमेरिकी स्वार्थ बदलिन थाल्यो, तब सहयोगका नाममा बहाना मात्र देखाउन थालियो । अहिले युक्रेन आफैंले मात्र युद्ध लड्नुपरेको छ । युक्रेनका नागरिकको साहदत, उनीहरूको संघर्ष र उनीहरूको भविष्यका लागि अमेरिकाले कुनै दायित्व लिन चाहेको छैन ।
अमेरिका जबसम्म आफ्नो स्वार्थ पूरा हुन्छ, सहयोग गर्छ । तर जब स्वार्थ टुट्छ, त्यही अमेरिकाले तपाईंलाई एक्लै छोडिदिन्छ । यो केवल युक्रेनको कथा मात्र होइन, अमेरिकाले सबै साना राष्ट्रलाई ‘सहयोग’ का नाममा गरिरहेको पछिल्लो व्यवहार पनि हो । अमेरिकाले निःस्वार्थ सहायता नदिएको तथ्य अहिले युक्रेनले पनि अनुभव गर्दै छ । हामीले यसबाट पाठ सिक्नै पर्छ ।
युक्रेनको भविष्य अब अन्धकारमा छ । अमेरिकी सहयोगको नाममा युक्रेनले पाएको धोका र पीडा अन्तिम समयसम्म देखिनेछ । यस घटनाले साना राष्ट्रलाई आफ्नो भविष्यका लागि निर्णय लिने समय आएको संकेत पनि गरेको छ । हामीले बुझ्नैपर्छ कि अमेरिकाबाट आउने सहयोग केवल स्वार्थका लागि हो र हामीले आफ्नै आत्मनिर्भर भविष्यका लागि मार्ग बनाउन सक्नुपर्छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
