नेपाललाई पनि पाठ

फाल्गुन १८, २०८१

पाठक पत्र

A lesson for Nepal too

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी जेलेन्स्कीबीचको वार्ता निकै रस्साकसी र विवादास्पद बनेपछि असफल भएको छ ।

वार्ता ह्वाइटहाउसमा भएको थियो । वार्ता चर्काचर्कीमा परिणत भएपछि उनलाई अमेरिका छोड्न आदेश दिइएको बीबीसीले उल्लेख गरेको छ ।

रस्साकसीकै दौरान अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘आभारी’ भनेका थिए । तर, ट्रम्पले ‘तेस्रो विश्वयुद्धसँग जुवा खेल्ने’ भनेपछि जेलेन्स्कीले ‘अब अमेरिकासँग कुनै सम्झौता नहुने’ बताएका थिए । उनीहरूबीच पत्रकार सम्मेलनका क्रममा भएको भनाभनको भिडियो सार्वजनिक भएको छ । वार्तामा ट्रम्पले आफू युक्रेनलाई सघाउन नसक्ने र युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए ।

भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेलेन्स्कीले शान्ति नचाहेको उल्लेख गरेका छन् । अब युक्रेनी राष्ट्रपतिसामु गम्भीर चुनौती थपिएको छ । एकातिर उनले आफ्नो देशको अस्तित्वका लागि अमेरिकासँग सहकार्य गरेर ठूलो धनजनको क्षति व्यहोरेका छन् भने अर्कोतिर अमेरिकासँग झुक्दा महत्त्वपूर्ण खनिज सम्झौता गर्नुपर्ने बाध्यता छ । राष्ट्रपति ट्रम्पले शान्तिको आवश्यकता परे अमेरिकालाई सम्झिन सक्ने बाटो खुला रहेको उल्लेख गरेको भए पनि आखिर ह्वाइटहाउसबाट बिनानिष्कर्ष बाहिरिन बाध्य भए जेलेन्स्की ।

यसैबीच, जेलेन्स्कीले कैयौं युरोपेली नेतालाई जवाफ दिएको र उनीहरूले युक्रेनप्रति आफ्नो समर्थन जाहेर गरेको बताइएको छ । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेको र उनले युक्रेनका लागि आफ्नो अटुट समर्थन कायम रहेको भनी प्रतिबद्धता जनाएको सञ्चारमाध्यममार्फत सार्वजनिक भएको छ ।
अब नेपालले यसबाट के पाठ सिक्न सक्छ त ? परनिर्भरताको पराकाष्ठाले अहम्ताको जडमा उम्लिँदा नेतृत्वले त दुःख पायो पायो, सारा जनताले पनि दुःखको सागरमा पौडिन बाध्य हुनुपर्ने समय आउन सक्छ । तसर्थ हामीलाई प्रकृतिले दिएको उपहारै काफी छ । यदि यसको सदुपयोग गर्न सक्यौं भने । अब पनि सोचेनौं र सधैं सुनको कचौरा लिएर भिख माग्ने बानी बसालियो भने हामी मात्र होइन, हाम्रा भावी सन्ततिले पनि दुःखको अनुभूतिमा सधैं विगतको इतिहासलाई सराप्नेछन् ।

खिमराज गिरी, काठमाडौं

पाठक

Link copied successfully