प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्र आएको लामो समयसम्म पनि देशमा अहिलेसम्म स्थिर सरकार बनेका छैनन् । एकले अर्कालाई आरोप लगाउने नेताहरूमा पनि इमानदारी देखिएन ।
हिजो राणा शासनले गर्न दिइएन भनियो, जनताले पत्याए । त्यसपछि राजाले गर्न दिएनन् भनियो, त्यो पनि जनताले पत्याए । अहिले चाहिँ कसले गर्न दिएन त ? एउटा दलले पाँच वर्ष सरकार चलाउन पाएको छैन । देशमा भ्रष्टाचार झन्झन् बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिलिएको छ । हिजो वीर गोर्खालीका नामले चिनिने देश आज भ्रष्टाचारीको देश भन्न थालिएको छ ।
हरेक दलले सरकारको नेतृत्व गरेका छन् । तैपनि मुलुकमा सुशासन भएन । मुलुकले स्थिर सरकार पाएन । हजुरबाले भोट हालेर प्रधानमन्त्री बनाएको व्यक्तिलाई नाति पुस्तासम्मले भोट दिएर प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आउनु किमार्थ सकारात्मक सन्देश होइन । जनता अब नेता बनाउनेभन्दा पनि देश बनाउने नेतृत्व निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्ने बेला आएको छ । अल्पायुमै सरकार फेरबदल हुने रोग निमिट्यान्न नपारेसम्म मुलुक उँभो लाग्ने देखिँदैन ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
