हाम्रा शासक वर्ग ज्यादै भ्रष्ट भए । गिरीबन्धु काण्ड, ओम्नी काण्ड, बालुवाटार काण्ड, भुटानी शरणार्थी काण्ड आदि इत्यादि यसका पछिल्ला उदाहरण हुन् ।
वास्तवमा कांग्रेस, एमाले र माओवादीसमेत पनि नेपाल बनाउन होइन, खालि भागबन्डा गरेर खान मात्र लालायित भइरहेजस्तो उनीहरूका क्रियाकलापले देखाउँछ । जहिले पनि हुने खाने नै सरकारको नेतृत्वमा पुग्दा यस्तो परिणाम भोग्नुपरेको हो कि ? जनताका समस्या हाम्रा शासक वर्गले बुझेनन् या बुझ्नै चाहेनन् कि ? उनीहरू त अहिले पनि आफ्ना नाता कुटुम्बलाई मात्र पोस्न तल्लीन छन् । हरेक मन्त्रालय, सेवालय, कार्यालय, विद्यालयमा उनीहरूले आफ्नै आसेपासेलाई मात्रै बढी महत्त्व दिइरहेका भेटिन्छन् । २१ औं शताब्दीमा पनि सेवाभावलाई इमानको आँखाले हेर्न नसक्नु हाम्रै दुर्भाग्य हो कि !
२०–२५ वर्षसम्म घोटिएर पढ्छन्, तर आफ्नो देशमा काम पाउँदैनन्, माया पाउँदैनन् । यसतर्फ पनि सरकारको ध्यान जान आवश्यक छ । भन्छन् नि, किताब च्यातेपछि गाताको के काम ? कसैले सम्झाउँदा नाइँ भन्ने नाता के काम ? पानीमा लुथ्रुक्कै भिज्दा पनि छेउमा उभिएर मुसुमुसु हाँस्ने साथी के काम ? वास्तवमा हाम्रो सरकारको हालत यस्तै छ । जनताको पीरमर्कामा ऊ मात्र रमिते बनेजस्तो छ ।
संविधानमा प्रगतिशील समाजवाद लेखेर कम्युनिस्ट पार्टीको के काम ? त्यस्तै एमसीसी र नागरिकता विधेयक पास गरिसकेपछि शासक वर्गको के काम ? हाम्रो घरमा आमाबुवा नभएपछि संसार नै छैन जस्तो लाग्छ । जनताले पनि सरकारको माया नपाएपछि आक्रोशित हुनु स्वाभाविक हो ।
– तुल्सीनारायण लाखेमरु, सूर्यविनायक, भक्तपुर
