भारतीय कंग्रेस (आई) सँग नेपाली कांग्रेसको तुलना गर्दै किशोर नेपालले लेखेको आलेख ‘कचिंगलमा कांग्रेस’ पढ्दा आनन्दै आयो । उनले भनेजस्तै वास्तवमा दुवै कांग्रेसको हालत एकैजस्तो छ ।
भारतीय कंग्रेसले त एकचोटि मात्र स्वतन्त्रताका लागि लड्यो जबकि नेपाली कांग्रेसले तीन–तीन पटक प्रजातन्त्रका लागि कुर्बानी दियो । तर पनि उसको आजको हालतको कारण के होला ? यसको कारण एउटै हुन सक्छ– पछिल्लो पुस्ताले बलिदानी पुस्ताको ब्याज खानेसिवाय केही गर्न सकेन ।
लेखक नेपालले पूर्वराजाले गरेको आह्वानमा गरेको चिन्ता पनि मलाई रुचिकर नै लाग्यो । वास्तवमा अहिले कसैले पनि पूर्वराजाको आह्वानको विरोध नगर्नुमा त्यसप्रति त्यतिविधि वास्ता र रुचि नदेखाएको पनि हुन सक्छ । पूर्वराजा त बेलाबेलामा बोलिरहन्छन्, जबकि, उनको जनतामा त्यतिविधि ठूलो आकर्षण पनि छैन ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज
