हिजो जसलाई जनताले आफ्नै मतबाट जिताए, आज तिनै नेताको जन्मदिनमा समेत ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर सामाजिक सञ्जाल रंगिएका छन् ।
यो कस्तो विडम्बना हो ? के हामी यति छिट्टै बिर्सन्छौं कि नेतृत्व हाम्रो मतले बनाउँछ र हाम्रै मतले उनीहरूलाई हटाउन पनि सक्छ ।
नेपालको राजनीतिक परिदृश्यमा यस्ता परस्परविरोधी घटनाक्रम बारम्बार देखिन थालेका छन् । नेतृत्व असफल भएमा त्यसको आलोचना हुनु स्वाभाविक हो, तर आलोचना र अपमानको बीचमा एउटा ठूलो भिन्नता छ । लोकतान्त्रिक समाजमा गलत नीतिहरूको विरोध गरिनुपर्छ, तर सामाजिक सञ्जाललाई कटुता फैलाउने हतियार बनाउनु कुनै पनि मानेमा उचित होइन ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नीतिगत असहमति राख्न सकिन्छ । मेरो पनि उनीप्रति गम्भीर असहमति छ । उनले लिएका कतिपय निर्णय विवादास्पद रहे, जसको आलोचना गर्नु नागरिकको कर्तव्य पनि हो । तर, राजनीतिक प्रतिशोधका नाममा अपमानजनक भाषा प्रयोग गर्नुलाई कदापि पनि लोकतान्त्रिक संस्कृति मान्न सकिन्न ।
यदि ओली असफल नेता हुन् भने उनलाई चुनावमार्फत नै हराउनुपर्छ । यदि उनले गलत नीतिहरू अवलम्बन गरिरहेका छन् भने त्यसको तथ्यपरक र तार्किक समीक्षा गरिनुपर्छ । तर, भद्दा भाषा प्रयोग गरेर व्यंग्यका नाममा तुस पोख्नु कदापि उचित होइन । यस्तो प्रवृत्तिले समाजलाई स्वस्थ बहसको बाटोमा लैजाने होइन कि कटुता र घृणाको भड्खालोमा मात्र धकेल्नेछ ।
हामीले बुझ्नैपर्छ कि लोकतन्त्र भावनात्मक आक्रोशले होइन, परिपक्व चेतनाले अघि बढ्छ । नेताको मूल्यांकन तिनका कामका आधारमा हुनुपर्छ । भोट दिने बेला गम्भीर बन्नुपर्छ, निर्णय लिने बेला विवेकशील बन्नुपर्छ र आलोचना गर्दा पनि जिम्मेवार बन्नुपर्छ ।
आजको आवश्यक कुरा के हो भने हामीले आफैंलाई प्रश्न गर्नुपर्छ– हाम्रो समाज आलोचनात्मक चेतनातर्फ उन्मुख छ कि सनसनीपूर्ण व्यंग्यतर्फ ? हामी तथ्य र तर्कको राजनीति गर्दै छौं कि आक्रोश र अन्धविश्वासको ?
नेताको जन्मदिनमा उनलाई स्वस्थ जीवनको शुभकामना दिनु सामान्य मानवीय शिष्टाचार हो । तर, उनीप्रति असहमति छ भने उचित माध्यमबाट, सही स्थानमा र सही तवरले विरोध गर्नु नै लोकतान्त्रिक आचरण हो । अन्ततः राजनीतिक निर्णय जनताले नै गर्ने हो र जनताको विवेक नै लोकतन्त्रको मेरुदण्ड पनि हो ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
