सार्वजनिक पदको गरिमा राखौं

फाल्गुन १२, २०८१

पाठक पत्र

Let's keep the dignity of public office

विद्युत् नियमन आयोगले अर्बौं महसुल नतिर्ने उद्यमीहरूको लाइन नकाट्न पुनः कुलमान घिसिङलाई निर्देशन दिएको छ ।

केही दिनअघि घिसिङले लाइन नकाटेसम्म उद्यमीहरूले बक्यौता तिर्न नै नमानेको हुँदा पुनः लाइन काटेर असुल गर्न अनुमति पाऊँ भनेर पत्र पठाएका थिए । तर नियमन आयोग उल्टो महसुल नतिर्ने उद्यमी व्यापारीको पक्षमा उभिन पुग्यो । यो खेदजनक कुरा हो । तलबभत्ता सुविधा सरकारबाट खाने तर काम भने महसुल नतिर्ने उद्यमीको पक्षमा गर्ने ? के उठाएको महसुल कुलमानको व्यक्तिगत खातामा जान्छ ? कि राष्ट्रकोषमै ती महसुल आउँछ ?

ऊर्जामन्त्री र मन्त्रीले भर्ना गरेको नियमन आयोगको आसेपासेका कारण देश खोक्रो बन्दै छ । यसको जिम्मा ऊर्जामन्त्री दीपक खड्का र उनलाई मन्त्री बनाउने पार्टी कांग्रेसले लिनुपर्छ । गत मंगलबार संसद्को रोस्ट्रमबाट ऊर्जामन्त्री दीपक खड्काले आफ्नै मन्त्रालय मातहतको कर्मचारी कुलमान घिसिङबारे कटु आलोचना गरे । जसले उनको आफ्नै पदको गरिमा र प्रतिष्ठा गिरेको छ । यो अशोभनीय कुरा पनि हो । किनकि आजसम्म आफ्नै मन्त्रालय मातहतका कर्मचारीको यसरी आलोचना गर्ने अभ्यास थिएन, जुन मन्त्री खड्काले गरे । यो खेदजनक छ । उनले मातहतको विभागीय प्रमुखले कानुनबमोजिम दिएका कामहरू नगरेको हो भने उनलाई कारबाही गर्न मन्त्रालयको सचिवलाई भन्ने, नभए मन्त्रिपरिषद्मा प्रस्ताव लाने र निर्णय गराउने हो । न कि संसद्को रोस्ट्रममा कुरा उठाउने । यसले उनकै अक्षमता र बौद्धिक दिवालियापन पुष्टि गरेको छ । कहीँ ऊर्जामन्त्रीले कानुन विपरीतका र भ्रष्ट कार्यहरू गर्न निर्देशन दिएको र त्यो कुरा कुलमानलाई ग्राह्य नभएर पनि निर्देशन नमानेको पो हो कि ? किनकि मन्त्री
खड्काको पृष्ठभूमि पनि राम्रो छैन । स्काउटको जग्गा कब्जा गर्ने, भाडा नतिर्ने, वनको नियमविपरीत शिवपुरी राष्ट्रिय निकुन्जभित्र ५ तारे होटल बनाउने र त्यसको अनुमति नदिँदा आफैंले वनका कर्मचारीहरूलाई धम्क्याएको दृश्य सम्पूर्ण नेपालीले देखेका छन् । यस्ता पृष्ठभूमिका नेतालाई मन्त्री बनाएर कांग्रेसले आफ्नो छविमा दाग लाएको छ ।

मन्त्री खड्काले संसद्मा बोलेको कुराले उनी र कुलमान बीच राम्रो सम्बन्ध नरहेको र उनले कुलमानलाई काम गर्न सहयोग गरिरहेका छैनन् भन्ने पुष्टि भएको छ । यस परिस्थितिमा दुई जनाको ‘इगो’का कारण तीन करोड नेपालीको भाग्य बनाउने ऊर्जा क्षेत्र धराशायी हुने देखिन्छ । एक जना खराब मन्त्रीका कारण तीन करोड नेपालीको भविष्यमा नकारात्मक असर पार्ने काम रोक्ने दायित्व यिनलाई मन्त्री बनाउने पार्टी नेपाली कांग्रेसको पनि हो । कांग्रेसले कसलाई साथ दिने ? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा पुर्‍याउने, लोडसेडिङबाट आक्रान्त देशलाई मुक्ति दिने कुलमानलाई हटाउने कि मन्त्री खड्कालाई ? कुलमान र उनको विभागीय मन्त्री दीपक खड्कामध्ये एक रोज्नुपर्दा जनताले कसलाई रोज्लान् ?

गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully