‘ग्रे लिस्ट’ मा परेपछि आवश्यक सुधारात्मक कदम

फाल्गुन ११, २०८१

पाठक पत्र

Remedial steps required after being 'Grey Listed'

नेपाल फेरि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा परेको छ । विगतमा पनि नेपाल यस्तो सूचीमा परेपछि अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा जटिलता देखिएको थियो ।

तर, सरकारले आवश्यक सुधार गर्न नसकेपछि नेपाल पुनः जोखिमयुक्त सूचीमा परेको हो । यसले नेपालको बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार, विदेशी लगानी र र रेमिट्यान्स प्रवाहमा गम्भीर असर पार्नेछ । सरकार र नियामक निकायहरूले समयमै सुधार नगरे नेपाल थप ठूलो आर्थिक संकटमा फस्न सक्छ ।

नेपाललाई एफएटीएफको एसिया प्यासिफिक ग्रुप (एपीजी) ले २०२३ मा गरेको मूल्यांकन प्रतिवेदनमा दिएको सुझाव कार्यान्वयन गर्न नसकेका कारण ‘ग्रे लिस्ट’ मा राखिएको हो । सम्पत्ति शुद्धीकरण र आतंकवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्न नेपाल असफल रह्यो । ११ प्रभावकारिता सूचकमध्ये कुनैमा पनि नेपालले उच्च वा पर्याप्त मूल्यांकन प्राप्त गर्न सकेन । गैरबैंकिङ क्षेत्र (सहकारी, क्यासिनो, बहुमूल्य धातुका व्यापारी, घरजग्गा कारोबार) मा नियमन कमजोर रहेको ठहर गरियो । साथै, बैंक तथा वित्तीय संस्थाहरूबाट फाइनान्सियल इन्टिलिजेन्स युनिटमा गरिने रिपोर्टिङ प्रणाली सुधार गर्नुपर्ने देखियो । सरकारले सुधारका लागि प्रयास गरेको दाबी गरे पनि कार्यान्वयन कमजोर भएकाले नेपाल फेरि एफएटीएफको निगरानीमा परेको हो ।

नेपाल ‘ग्रे लिस्ट’ मा परेपछि ठूला आर्थिक जोखिमहरू देखिनेछन् । बैंकहरूको लेटर अफ क्रेडिट (एलसी) माथि विश्वास घट्न सक्छ, जसले आयात–निर्यात प्रक्रियालाई महँगो र जटिल बनाउनेछ । विदेशी लगानीकर्ताले नेपाललाई उच्च जोखिमयुक्त मुलुकका रूपमा हेर्नेछन्, जसले वैदेशिक लगानी घट्ने सम्भावना उच्च हुन्छ । विदेशमा रहेका नेपालीहरूले पैसा पठाउँदा थप शुल्क लाग्नेछ, किनभने अन्तर्राष्ट्रिय बैंकहरूले नेपाललाई जोखिमपूर्ण देख्न सक्छन् । साथै, आईएमएफ, विश्व बैंक, एडीबी जस्ता संस्थाहरूबाट सहुलियतपूर्ण कर्जा र अनुदान प्राप्त गर्न कठिनाइ हुने सम्भावना छ । नेपाल यसअघि पनि ‘ग्रे लिस्ट’ मा परेका थियो । अब पनि सुधारात्मक कदम नचाले, नेपाल ‘ब्ल्याक लिस्ट’ मा पर्न सक्छ, जसले अर्थतन्त्रलाई अझै गहिरो संकटमा पार्नेछ ।

अब नेपालले समयमै सुधारात्मक कदम चाल्न आवश्यक छ । सम्पत्ति शुद्धीकरण रोक्न प्रभावकारी ढंगले कानुन कार्यान्वयन गर्नुपर्छ । गैरबैंकिङ क्षेत्र (सहकारी, रियल स्टेट, क्यासिनो) मा कडाइ गर्दै नियमन गर्नुपर्छ । वित्तीय अपराध अनुसन्धानलाई सशक्त बनाएर फाइनान्सियल इन्टिलिजेन्स युनिटको क्षमता वृद्धि गर्न जरुरी छ । सरकारले ढिलासुस्ती नगरी प्रभावकारी सुधार नगरे नेपालको वित्तीय प्रणालीमाथि अन्तर्राष्ट्रिय विश्वास घट्नेछ, जसले समग्र अर्थतन्त्रलाई गम्भीर असर पार्नेछ । अब नेपालले सही नीतिहरू अवलम्बन नगरे अर्थतन्त्र थप संकटमा पर्ने निश्चित छ ।

- सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully