टोकियोमा मैले जे देखें

फाल्गुन ९, २०८१

पाठक पत्र

What I saw in Tokyo

नेपालमा २–४ किलोमिटरको सुरुङ खन्दैमा नेताहरूले ‘नयाँ युगको सुरुवात’ भएको घोषणा गर्छन् । भाषण, ब्यानर, उद्घाटन समारोहको तामझाम चल्छ । तर, म जापानमा बसेपछि बुझें— विकास त चुपचाप हुने कुरा रहेछ ।

टोकियो मेट्रोको भूमिगत संसार हेर्दा लाग्यो, वास्तविक युग परिवर्तन त यस्तै हुन्छ ।
कामविशेषले एक दिन म कमाता स्टेसनबाट रोप्पोंगी स्टेसन जानुपर्ने भयो । ओएदो लाइन चढेपछि रेल विस्तारै भूमिगत गहिराइमा पस्न थाल्यो । टोकियोको रेल जति छिटो गन्तव्यमा पुग्छ, त्यसको इतिहास उति नै रोचक छ । ओएदो लाइन निर्माण गर्न १४ वर्ष लाग्यो, जहाँ १० हजारभन्दा बढी मजदुरहरूले ३ सिफ्टमा काम गरेका थिए । यो लाइन बनाउने क्रममा खनिएको माटो टोकियो बेमा लगेर समुद्र पुरियो, जहाँ अहिले २० लाख जनसंख्या भएको अदाइबा सहर बसिसकेको छ ।

रोप्पोंगी स्टेसनमा उत्रिँदा महसुस भयो, म जमिनबाट ४२.३ मिटर गहिराइमा थिएँ । १३ तलासम्म भुइँमुनि खनिएको यो स्टेसन संसारकै गहिरा भूमिगत स्टेसनमध्ये एक हो । तर, यो मात्र सुरुवात थियो । जब म सिन्जुकु स्टेसनतिर लागें, त्यहाँको विशालता झनै अचम्मलाग्दो थियो । सिन्जुकु स्टेसन कुनै सामान्य स्टेसन होइन, यो विश्वकै सबैभन्दा व्यस्त रेल हब हो, जहाँ दैनिक ३५ लाखभन्दा बढी यात्रु ओहोरदोहोर गर्छन् । यसको भूमिगत लेभल ५० मिटर गहिराइमा छ, जुन १६ तले भवनको उचाइ बराबर हो ।

टोकियोको भूमिगत संसार केवल रेल स्टेसनहरूमा मात्र सीमित छैन । यहाँ ३३० किलोमिटरभन्दा बढी भूमिगत रेलमार्ग, १४ वटाभन्दा धेरै सब–वे लाइनहरू र सयौं स्टेसनहरू छन् । यी सब–वे लाइनहरूमध्ये केही विशेष उल्लेखनीय छन्— गिन्जा लाइन, मारुनोउची लाइन, हिबिया लाइन, असाकुसा लाइन आदि । यहाँ सिन्जुकु, सिबुया र टोकियो स्टेसनमा त भूमिगत सहर नै छ, जहाँ रेस्टुरेन्टहरू, सपिङ मल, अफिस, पार्किङ, एस्केलेटर र लिफ्टहरू भूमिगत रूपमा जडान गरिएका छन् ।

नेपालमा एउटा पुल बनाउन १० वर्ष लाग्छ, एउटा सुरुङ खन्न १५ वर्ष लाग्छ । जापानले आफ्नो सहरको ‘अन्डर ग्राउन्ड म्याप’ विस्तार गरिरहँदा, हामी भने अझै ‘युग परिवर्तन’ को भाषण सुन्दै छौं । नेपालका नेतालाई टोकियो ल्याएर देखाउन मन लाग्यो— विकास यस्तो हुन्छ । भाषण होइन, योजनाले विकास गर्छ । उद्घाटनको हल्ला होइन, परिश्रमले प्रगति गर्छ । टोकियो मेट्रोको यो भूमिगत क्रान्तिले देखाउँछ, असली विकास सस्तो प्रचारको आवश्यकता पर्दैन, परिणाम आफैं बोल्छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully