विदेशमा नेपाली विद्यार्थीको सुरक्षा सवाल

फाल्गुन ७, २०८१

पाठक पत्र

Safety question of Nepali students abroad

भारतको ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको घटनाले सबै नेपालीलाई गहिरो गरी सोच्न बाध्य बनाएको छ ।

एउटा नेपाली विद्यार्थीमाथि भारतीय नागरिकबाट दुर्व्यवहार भयो, उनले न्याय खोजिन् तर उल्टै अन्यायको सिकार हुनुपर्‍यो । यस्तो अवस्थामा विश्वविद्यालय प्रशासनले न्याय दिलाउनुपर्ने हो तर उसले नेपाली विद्यार्थीहरूलाई नै दमन गर्‍यो । सुरक्षाको माग गर्ने नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालियो । के यही हो अन्तर्राष्ट्रिय शिक्षण संस्थाको चरित्र ? के विदेशी विद्यार्थीलाई हेर्ने भारतीय दृष्टिकोण यस्तै हो ?

विद्यार्थीहरू पढ्न भारत जान्छन्, परिवारले दुःख गरेर उनीहरूलाई पढाउँछन् तर त्यही ठाउँमा उनीहरूले असुरक्षित महसुस गर्नुपर्ने ? एउटा नेपाली विद्यार्थीको मृत्यु भयो तर हाम्रो सरकारले उचित कूटनीतिक पहल गर्न किन ढिलो गर्‍यो ? के हामी हरेक पटक घटना भएपछि मात्रै बोल्ने ? किन हाम्रो कूटनीति प्रभावहीन देखिन्छ ? भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूले अझै पनि अन्याय सहनुपर्छ भने हाम्रो राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठ्छ । विदेशमा अध्ययनरत हाम्रा दाजुभाइ–दिदीबहिनी सुरक्षित छैनन् भने त्यसको जवाफ कसले दिने ? यो घटनाले नेपाली समाजलाई पनि एउटा पाठ सिकाएको छ । हामी केवल सामाजिक सञ्जालमा आक्रोश पोखेर चुप लाग्ने कि दीर्घकालीन समाधान खोज्ने ? के नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि सरकारले कुनै ठोस नीति बनाउनेछ ? वा, यो घटना पनि केही समयपछि बिर्सिइनेछ ? भारतमा मात्रै होइन, अन्य देशमा पनि नेपाली विद्यार्थीहरूले यस्तो अन्याय भोग्नुपरेको छ । अब त हामीले सोच्नुपर्छ— के नेपाली हुनु कमजोरी हो ?

अब समय आयो कि विदेशमा अध्ययन गर्न जाने हरेक नेपाली विद्यार्थी सुरक्षित रहून् भनेर राज्यले पहल गरोस् ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully