भारतको ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको घटनाले सबै नेपालीलाई गहिरो गरी सोच्न बाध्य बनाएको छ ।
एउटा नेपाली विद्यार्थीमाथि भारतीय नागरिकबाट दुर्व्यवहार भयो, उनले न्याय खोजिन् तर उल्टै अन्यायको सिकार हुनुपर्यो । यस्तो अवस्थामा विश्वविद्यालय प्रशासनले न्याय दिलाउनुपर्ने हो तर उसले नेपाली विद्यार्थीहरूलाई नै दमन गर्यो । सुरक्षाको माग गर्ने नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालियो । के यही हो अन्तर्राष्ट्रिय शिक्षण संस्थाको चरित्र ? के विदेशी विद्यार्थीलाई हेर्ने भारतीय दृष्टिकोण यस्तै हो ?
विद्यार्थीहरू पढ्न भारत जान्छन्, परिवारले दुःख गरेर उनीहरूलाई पढाउँछन् तर त्यही ठाउँमा उनीहरूले असुरक्षित महसुस गर्नुपर्ने ? एउटा नेपाली विद्यार्थीको मृत्यु भयो तर हाम्रो सरकारले उचित कूटनीतिक पहल गर्न किन ढिलो गर्यो ? के हामी हरेक पटक घटना भएपछि मात्रै बोल्ने ? किन हाम्रो कूटनीति प्रभावहीन देखिन्छ ? भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूले अझै पनि अन्याय सहनुपर्छ भने हाम्रो राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठ्छ । विदेशमा अध्ययनरत हाम्रा दाजुभाइ–दिदीबहिनी सुरक्षित छैनन् भने त्यसको जवाफ कसले दिने ? यो घटनाले नेपाली समाजलाई पनि एउटा पाठ सिकाएको छ । हामी केवल सामाजिक सञ्जालमा आक्रोश पोखेर चुप लाग्ने कि दीर्घकालीन समाधान खोज्ने ? के नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि सरकारले कुनै ठोस नीति बनाउनेछ ? वा, यो घटना पनि केही समयपछि बिर्सिइनेछ ? भारतमा मात्रै होइन, अन्य देशमा पनि नेपाली विद्यार्थीहरूले यस्तो अन्याय भोग्नुपरेको छ । अब त हामीले सोच्नुपर्छ— के नेपाली हुनु कमजोरी हो ?
अब समय आयो कि विदेशमा अध्ययन गर्न जाने हरेक नेपाली विद्यार्थी सुरक्षित रहून् भनेर राज्यले पहल गरोस् ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
