कांग्रेसमा ‘स्वतस्फुर्त’ कि ‘बक्सिसको’ नेतृत्व भन्ने आलेखमा लेखकले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा गगन थापा सभापतिको उम्मेदवार बन्ने र उनी नै सभापति हुने आधारहरू प्रस्तुत गरेका छन् ।
आलेख सम्पूर्ण रूपमा नै गगन थापाले इतिहासदेखि वर्तमानसम्म हासिल गरेका उपलब्धिहरूको व्याख्याले भरिएको छ । कुनै पनि राजनीतिक पार्टी समान विचार बोक्नेहरूको एउटा समूह हो । सामूहिक उद्देश्य हासिल गर्नका लागि सामूहिक रूपमा काम गर्ने संगठन नै राजनीतिक पार्टी हो । समूहको एउटा सदस्य त्यति नै लायक वा सक्षम हुन्छ, जति उसको समूह हुन्छ । व्यक्तिको केही विशिष्ट भूमिकाले अवश्य फरक पार्छ तर राजनीतिक पार्टीमा समूहको स्वार्थ नै अन्तिममा हाबी हुन्छ । गगन थापा समकालीन नेताभन्दा केही फरक देखिन्छन् तर नेपाली कांग्रेसले आजको दिनमा बोक्ने विचार, पार्टीको केन्द्रदेखि तलसम्मको पार्टी नेतृत्व र तिनका गतिविधि हेर्दा अब यो पार्टीमा कोही व्यक्ति आएर केही गर्दैमा चमत्कार भएर बौरिने अवस्थामा छैन ।
पार्टीका तमाम भ्रातृ संगठन, जिल्ला र पालिका तहका नेताहरू दलाली, कमिसनखोरी र राज्यदोहनमा लिप्त छन्, जुन कुरा केन्द्रबाट हेर्दा नदेखिएला तर स्थानीय स्तरमा हेर्दा स्पष्ट देखिन्छ । गगन सभापति हुने पनि तिनै नेता कार्यकर्ताको मतले नै हो । उनले त्यही काम गर्नेछन्, जसले उनीहरूको स्वार्थमा कुनै असर गर्ने छैन । राजनीतिक पार्टीको एउटा उमेर हुन्छ, व्यक्तिजस्तै पार्टी पनि वयस्क हुँदै वृद्ध हुन्छ । जसरी व्यक्तिको मृत्यु हुन्छ, त्यसरी नै आफ्नो उद्देश्य पूरा भएपछि राजनीतिक पार्टीको पनि अन्त्य जरुरी हुन्छ । अहिलेको कांग्रेस सांगठनिक, वैचारिक, नैतिकलगायत सम्पूर्ण रूपले वृद्ध पार्टी हो, जसको मृत्यु अब जरुरी भइसकेको छ ।
गगन थापाहरूले अब नेपाली जनता र राष्ट्रका निमित्त यदि केही गर्ने उद्देश्य राखेको हो भने यो वृद्ध र जीर्ण पार्टीलाई वैशाखी लगाएर डोर्याउन छाड्नुपर्छ । जसरी जंगलमा एउटा भीमकाय जीवको मृत्यु हुन्छ, त्यसको मृत शरीर अरू हजारौं वनस्पतिको जीवनको कारक बन्न पुग्छ । त्यसरी नै एउटा राजनीतिक पार्टीको अवसान नयाँ सोच, विचार र अभियानको प्रस्थानबिन्दु बन्न सक्छ । गगन थापाहरूले त्यही नवीन सोच र अभियानको नेतृत्व गर्नु मनासिब हुन्छ, जब राजनीतिक दल वैचारिक, सांगठनिक रूपले थलिन्छ । केही व्यक्तिहरू कुनै अमूक नेताको तिलस्मी अवतारले नै पार्टी बौरिन्छ भन्ने ठान्छन् भने त्यो दिवास्वप्न मात्रै हो ।
– मनोज लम्साल, देवचुली–३, नवलपुर
