काठमाडौँ — नयाँ सोच र भिजन बोकेर आएका मेयर बालेन शाहले काठमाडौंको रूपरंग फेर्न देखाएको तदारुकताले उनका प्रशंसक निकै हौसिएका छन् ।
नयाँ सोच र भिजन बोकेर आएका मेयर बालेन शाहले काठमाडौंको रूपरंग फेर्न देखाएको तदारुकताले उनका प्रशंसक निकै हौसिएका छन् । सुरुका दुई/चारवटा कामले जनताको मन तानेपछि प्रशंसकले काठमाडौंको पर्यायवाची नाम नै बालेन सिटी भन्न थाले । बालेनले कामहरू त धेरै नै गर्न खोजेका थिए । तर पुराना पार्टीहरूको पुरानो सोच, दलीय राजनीति र असहयोगी भावनाले उनले सोचेजति काम गर्न सकेनन् । अन्यथा अहिलेसम्म टुकुचाको दुवैतर्फ सरर गाडी चलिसक्थ्यो । बागमती र विष्णुमती करिडोर पूर्ण रूपमा सञ्चालन भइसक्थ्यो । तर उनलाई सुकुम्बासी अतिक्रमण हटाउन गृह प्रशासनले सहयोग गरेन ।
अहिले पनि बालेनको काम गर्ने उत्साहमा खासै कमी आएको छैन । विशालबजार–इन्द्रचोकको फुटपाथ फराकिलो पारेर जनताको मन जितेका बालेनले फेरि दरबारमार्गमा ग्रेनाइट बिछ्याएर राजधानीवासीको मन जित्न खोजेका छन् । यो राम्रै कुरा हो । तथापि सहरहरू रंगाउने, चम्काउने र सिँगार्नेभन्दा पहिला सहरका जनताहरूले अत्यावश्यक ठानेका आधारभूत सेवाहरू पानी, बिजुली, शौचालय, फोहोर व्यवस्थापन जस्ता सेवा पाइरहेका छन् कि छैनन् ? त्यसतर्फ विचार पुर्याउनु ‘नगर–पिता’ को पहिलो कर्तव्य हो, हुनुपर्छ । त्यस अर्थमा मेयर बालेन कति सक्षम देखिएका छन् ? मूल्यांकनको समय आएको छ ।
उनलाई प्राप्त ५ वर्षमध्ये ३ वर्ष बितिसक्यो । काम देखाउने यो ठूलो समय हो । ३ वर्षको यस अवधिमा राजधानी काठमाडौंमा कतिवटा नयाँ सार्वजनिक शौचालय थपियो ? कतिवटा पुराना मर्मत सम्भार भए ? ती सबैको भौतिक अवस्था अहिले कस्तो छ ? कहाँ कहाँ छन् ? ती शौचालयहरूमा मानिसहरू नाक थुनेर पस्नुपर्ने अवस्था अहिले पनि छ कि छैन ? सार्वजनिक शौचालयहरू सबैले देख्न सक्ने गरी होर्डिङ बोर्डहरू राखिएका छन् कि छैनन् ? यी सबैको उत्तर ‘नगर–पिता’ को हैसियतले बालेनले काठमाडौंवासीलाई दिनु आवश्यक छ, ताकि भविष्यमा पुनः बालेनलाई नै मत दिने, नदिने भनेर मतदाताले मूल्यांकन गर्न सकुन् ।
म बालेनलाई ३ घण्टामा पुगिने थाइल्यान्डको सार्वजनिक शौचालयहरू हेरर आउन आग्रह गर्छु । र, त्यसैगरी राजधानीमा शौचालय बनाएर जनताको मन जित्न अनुरोध गर्छु । म थाइल्यान्ड भ्रमणमा जाँदा करिब एक दर्जन सार्वजनिक शौचालय पुगेको थिएँ । के छैन त्यहाँ ? मार्बल, टाइल्स, साबुन, स्याम्पो, सुगन्ध, सफा पानीदेखि हरेक शौचालयमा एयर कन्डिसन छ । बाहिरभन्दा शौचालयमै बसौंबसौं लाग्ने वातावरण छ । तर नेपालका सार्वजनिक शौचालय कस्ता छन् ? के तपाईंले कहिल्यै यहाँका शौचालय निरीक्षण गर्नुभएको छ ? हामी चाहन्छौं, तपाईंको यस कार्यकालमा राजधानीका सार्वजनिक शौचालय पहिलेभन्दा सफा, सुग्घर र थप व्यवस्थित हुन् । र, हरेक ५ सय मिटरको दूरीमा थाइल्यान्डमा झैं शौचालय बनुन् । फोहोर व्यवस्थापनमा तपाईंले सफलता पाउनु भएकै छ । अब शौचालय व्यवस्थापनमा पनि सफलता पाउन सके आगामी दिनमा पनि तपाईंलाई राजधानीवासीले साथ दिनेछन् ।
गोपाल देवकोटा
गोकर्णेश्वर ८, जोरपाटी
