सरकारले कृषकको उत्थानमा ध्यान दिने हो भने घरपरिवारको मात्र नभई ग्रामीण अर्थतन्त्रमा उल्लेख्य सुधार ल्याउन सकिन्छ ।
उत्तरबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीनाला, खोलाहरूको पानी त्यत्तिकै खेर गइरहेको अवस्थामा सिँचाइ सुविधा, कृषि उपजको बजारीकरणतर्फ सरकारले उचित योजना नबनाउँदा कृषक लाभान्वित हुन सकेका छैनन् । तथापि कतिपय ठाउँमा व्यक्ति विशेषको पौरख अरूका निम्ति प्रेरणादायी बनेको पाउन सकिन्छ ।
यसै सन्दर्भमा ‘उर्वर कालेगाउँका पौरखी किसान’ शीर्षकको खबरले सरकारका पदाधिकारी एवं कृषकको ध्यान आकृष्ट भएको हुनुपर्छ । खबर आर्थिक रूपले पछि परेको जाजरकोट जिल्लासँग सम्बन्धित छ । सदरमुकामदेखि ५ किलोमिटरपूर्वमा रहेको कालेगाउँका कृषकहरूले मौसमी, बेमौसमी तरकारी खेती गरेर मनग्य आमदानी गरिरहेका र क्रमशः गाउँका सबैलाई उत्प्रेरणा मिलेको सन्दर्भ अनुकरणीय मान्नुपर्छ । भेरी नगरपालिका १ मा पर्ने कालेगाउँ उर्वर रहँदै आएको, भेरी नदीको किनारमा रहेकाले सिँचाइको समस्या नभएको अनि उत्पादित तरकारी जिल्ला सदरमुकाम, सुर्खेत, रुकुम पश्चिम, सल्यान, डोल्पासम्म दिनहुँ गाडीले ओसार्न थालेपछि झन्डै २०० घरधुरी रहेको कालेगाउँका करिब ७० प्रतिशत कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् । स्थानीय कृषक साधना पुनले ८ रोपनी जग्गामा तरकारी खेती गरेर वर्षमा ३ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् भने ६ वर्षको वैदेशिक रोजगारीपछि तरकारी खेतीमा लागेका सविन केसीले पनि त्यत्तिकै कमाउँछन् । क्रमिक रूपमा आम्दानी बढिरहँदा तरकारी खेतीबाट अरू कृषकलाई पनि निराश हुनुपरेको छैन ।
वस्तुतः कालेगाउँ समुद्री सतहबाट ७ सय २० मिटर उचाइमा रहेकाले बाह्रै महिना तरकारी खेतीका लागि उपयुक्त देखिन्छ भने तरकारीको माग बढिरहँदा कृषक ढुक्क देखिन्छन् । दुःखको कुरा, वर्षौंदेखि कैलाली कञ्चनपुरका नदी, खोला किनारमा भारतीय कृषक आएर तरकारी खेतीबाट उल्लेख्य आम्दानी गरे पनि प्रदेश सरकारका जिम्मेवार पदाधिकारी टुलुटुलु हेरेर बसिरहे । कसैले यो प्रविधि अन्यत्र फैलाउन आवश्यक ठानेनन् । अब भेरी किनारमा अवस्थित कालेगाउँको सन्दर्भ सरोकारवालाका निम्ति महत्त्वपूर्ण विषय बनेको छ । पूर्वदेखि पश्चिमसम्मका नदीनाला, खोला किनारमा तरकारी खेती विस्तार गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरकारले बृहत्तर योजना बनाउनु आवश्यक देखिन्छ ।
- भुवनेश्वर शर्मा, बोस्टन, अमेरिका
