जलन अस्पतालको आवश्यकता

फाल्गुन ५, २०८१

पाठक पत्र

Burns require hospitalization

काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः पसलमा भएको ग्यास विस्फोटमा परी ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना ।

उता, पोखरामा हाइड्रोजनयुक्त बेलुन विस्फोट हुँदा घाइते भएका मन्त्री र मेयरका लागि हेलिकोप्टर तत्कालै उडाइयो । यो घटनाक्रमले फेरि प्रमाणित गर्छ— नेपालमा उपचारको हक सबैका लागि समान छैन ।
जनता जल्छन्— सरकार मौन ।
नेता घाइते भए— हेलिकोप्टर दौडन्छ ।
कमलपोखरीको घटनामा झन्डै एक दर्जन सर्वसाधारण गम्भीर घाइते भए । कोही अस्पतालको बेडमा छटपटाइरहेका छन्, कोहीले ज्यान गुमाइसके । विपन्न मजदुरका लागि राज्यको कुनै चासो छैन । तर जब सत्तामा बसेका व्यक्ति सामान्य घाइते भए, देशभरका अस्पताल ‘अयोग्य’ ठहरिन्छन्, हेलिकोप्टर सेवाका लागि तत्पर रहन्छ ।
नेपालमा अस्पताल तब मात्र बन्छ, जब नेताहरू बिरामी पर्छन् । बीपीलाई क्यान्सर लागेपछि क्यान्सर अस्पताल खोलियो, सुशील कोइरालालाई क्यान्सर लागेपछि फेरि उपचार सुधारको बहस चल्यो । अब जलन अस्पताल पनि खोल्न कुनै मन्त्रीलाई जल्नुपर्ने हो ?
५० अर्बका भ्यु टावर ठड्याउने राज्यसँग उपचारका लागि आधारभूत स्वास्थ्य पूर्वाधार बनाउन किन बजेट हुँदैन ? गरिब मजदुर जल्दा, बाढीपहिरोमा नागरिक बग्दा, दुर्घटनामा सर्वसाधारण मर्दा, सरकारले
देख्दैन, सुन्दैन । तर कुनै मन्त्रीको सानो घाउ देख्नेबित्तिकै हेलिकोप्टर ‘रेडी’ हुन्छ, राजधानीका अस्पताल सक्रिय बन्छन् ।
हाम्रो माग स्पष्ट छ—
समान उपचारको व्यवस्था होस् ।
नेता र मजदुरबीचको स्वास्थ्य विभेद अन्त्य होस् ।
हेलिकोप्टर शासन होइन, सर्वसुलभ स्वास्थ्य सेवा लागू होस् ।
अब परिवर्तन आवश्यक छ । जलन अस्पताल खोल्नुपर्ने कारण नेताको घाउ होइन, जनताको पीडा हो । समाजवादको खोक्रो नारा होइन, समानताको व्यावहारिक कार्यान्वयन हो ।

- सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully