सम्पत्ति विवरण देखाउन किन हिम्मत नगरेको ?

फाल्गुन ४, २०८१

पाठक पत्र

Why did not dare to show property details?

ट्रान्सपरेन्सीको २०२३ को प्रतिवेदनमा नेपाल फेरि अति भ्रष्टाचार हुने देशको सूचीमा परेको खबर प्रधानमन्त्रीले पाउनुभएको होला कि अध्यादेशको पछि लाग्दा खबर छुटेको होला ?

प्रधानमन्त्रीज्यू, देशको रिमोर्ट कन्ट्रोल तपाईंको हातमा छ । सार्वजनिक निकायका सबै संयन्त्र तपाईंका निर्देशनमा चल्छन् । सम्झिरहेछु, ‘समृद्ध नेपाल ः सुखी नेपाली’ तपाईंले सिर्जना गरेको नारा हो । यही नारालाई तन्काएर धेरै ठाउँमा धेरै भाषण गर्नुभयो होला, ताली खानुभयो होला ।

आज अखबारको पहिलो पृष्ठमा तपाईंकै कार्यकालमा देश अति भ्रष्टाचारको सूचीमा परेको मात्र होइन, ‘ग्रे लिस्ट’ मै पर्ने जोखिममा देखिनुले तपाईंको शासनको नारालाई धज्जी उडाएको होइन र ? के तपाईंलाई यस्तो अवस्थामा आफूले देशलाई राम्रै तरिकाले चलाइराखेको जस्तो लाग्छ ? देशको यो अवस्था छ, तपाईं अध्यादेशको पछि लागिरहनुभएको छ, जनतालाई सरकार ढल्दैन भनेर स्पष्टीकरण दिँदै हिँड्नुभएको छ । संसद् चलेको दिनको उपलब्धि हेर्ने हो भने दलगत आरोप–प्रत्यारोपबाहेक केही हुँदैन । यसरी पनि देश समृद्ध हुन्छ ? तपाईं सामाजिक सञ्जाललाई नियमन गरेर देशमा समृद्धि ल्याउने कस्तो उपाय देख्नुभयो ? भूमि अध्यादेश ल्याएर कस्तो समृद्धि ल्याउन खोज्नुभएको हो ?

प्रधामन्त्रीज्यू, हामीले भाषण धेरै सुनिसक्यौं । तपाईंको मात्र होइन, सबै दलका सबै नेताका भाषण सुन्यौं । चुनावी घोषणापत्र पढ्यौं । अब देशलाई कुनै भाषणको जरुरत छैन । भाषणमा समय र ऊर्जा खर्च गर्नुभन्दा सुशासनका लागि तपाईंले गर्नैपर्ने काम के हो, त्यसमा अलि गम्भीर भएर काम गरे देशको अवस्था अलिकति बदलिन्थ्यो कि । यदि तपाईं भाषणमा मात्र नभई व्यवहारमै सुशासन चाहने मान्छे हुनुहुन्छ भने, तपाईंको र अन्य मन्त्रीहरूको सम्पत्ति विवरण बुझाउन पनि किन हिम्मत नगरेको ? आफ्नै सम्पत्ति विवरण नदेखाउने प्रधानमन्त्रीले ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ’ भन्ने कुरालाई हामीले कसरी पत्याउने ?
कृष्णप्रसाद शर्मा, दाङ, हालः काठमाडौं


२०६२/२०६३ को परिवर्तनपछि प्राप्त तीन तहको सरकार कार्यपालिका, न्यायपालिकार व्यवस्थापिका उदासीन भइदिँदा नेपालको अवस्था खस्किँदो देखिएको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय रिपोर्टलाई आधार मान्ने हो भने, पछिल्लो दोस्रो पटकको तीनै तहका सरकार, तिनले गरेका विकास आयोजना र बजेट विनियोजन निराशाजनक छन् । जनतालाई एक ठाउँमा राखेर सोध्ने हो भने, उनीहरूमा सरकारप्रति व्यापक उत्तेजना, निराशा र व्यवस्थाविरोधी सोच उत्कर्षमा पुगेकोपाइन्छ । ट्रान्सपरेन्सीको पछिल्लो रिपोर्टले नेपालमा भ्रष्टाचारमा अगाडि बढेको प्रस्ट देखिएको छ । रिपोर्ट कसले के निकाल्योभन्दा पनि भ्रष्टाचारको जरा देशमा यति बलियो भएको छ कि यसले व्यवस्थाप्रति नै आमनागरिकलाई निराशातर्फ धकेलिदिएको छ । तर, भ्रष्टाचारको दोष हाम्रो व्यवस्थालाई दिनु नै गलत छ । कुनै पनि व्यवस्थामा भ्रष्टाचाररूपी केही तत्त्वहरू सलबलाउँछन् नै । तर तिनको नाममा हामीले व्यवस्था होइन, ती तत्त्वको पहिचान गर्नु आवश्यक छ । लोकतन्त्रको बलमा नै भ्रष्टाचार नियन्त्रण हुन्छ । त्यसमा सरकारको इच्छाशक्ति आवश्यक छ । अतः सरकारी संयन्त्र एक भएर काम गर्न जरुरी छ। अनि मात्र हाम्रो देशको शिर उचो रहन्छ ।
रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully